नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा

दाङ । २०७७ मङ्सिर २६ गते

इन्सेक दाङको आयोजनामा मङ्सिर २५ गते घोराहीमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि जयनारायण पुनले २०२० जनवरीदेखि डिसेम्बर १० सम्म सङ्कलन गरिएका घटनाहरू प्रस्तुत गर्नु भएको थियो । जिल्लामा यस अवधिमा २ सय ३१ वटा घटना अभिलेख गरिएका छन् । जसमा १ सय ८७ महिला र ७१ बालबालिका पीडित भएका छन । कार्यक्रमका लुम्बिनी प्रदेश सभा सदस्य अमर डाँगीले वर्ष पुस्तक पुस्तकमात्र नभई मानव अधिकारका लागि निरन्तरको अभियान भएको बताउनु भयो । उहाँले आर्थिक, सामाजिक, साँस्कृतिक, राजनीतिक रुपान्तरणका लागि वर्ष पुस्तकले निरन्तर अभियानको रुपमा काम गरेको भन्दै निरन्तरताको कामना गर्नुभयो । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले कुनै बेला आफू पनि इन्सेक अभियानमा जोडिएको स्मरण गर्दै साँस्कृतिक रुपान्तरणमा वर्ष पुस्तकले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । जिल्ला अदालतका श्रेस्तेदार धनसिंह गिरीले न्यायिक प्रक्रियामा होस्टायल बढ्न थालेको भन्दै वर्ष पुस्तकले प्रमाण सङ्क्षणको काम गर्नुपर्ने बताउनु भयो ।

जिल्ला सरकारी वकिल कार्यालयका सह–न्यायाधिवक्ता ढकबहादुर रावतले वर्ष पुस्तक मानव अधिकारको दस्तावेज भएकाले यसमा प्रयोग गरिने अमुर्त भाषालाई सरल गर्न सुभाव दिनु भयो । जिल्ला प्रहरी कार्यालय दाङका इन्स्पेक्टर मोहनजंग बुढाथोकीले वर्ष पुस्तकले जिल्लाको मानव अधिकारको अवस्था झल्काएको र नागरिकको मानव अधिकारको रक्षा गर्न प्रहरीले जिम्मेवारी बहन गर्ने प्रतिवद्धता जनाउनु भयो । जिल्ला कारागारका जेलर विष्णुप्रसाद पाण्डेले मानव अधिकार उल्लङ्घनकर्ताहरूको मानव अधिकार सङरक्षण गर्ने ठाउँमा आफू रहेको भन्दै कैदी/बन्दीको मानव अधिकारप्रति जिम्मेवार रहेको बताउनुभयो । जिल्ला बारका उपाध्यक्ष मौसम आचार्यले सडक बालबालिका, बेवारिसे नागरिकहरूको स्वास्थ्य र खाद्य अधिकारको विषयलाई पनि वर्ष पुस्तकमा  समेटन  सुझाउनु भयो । अन्तरपार्टी महिला सञ्जालकी जिल्ला अध्यक्ष सुशीला पौडेलले वर्ष पुस्तकले सरोकारवालाहरूलाई खबरदारी गर्ने काम गरेको बताउनु भयो । नागरिक समाजका जिल्ला संयोजक केशवकुमार शर्मा, महिला मानवअधिकार रक्षक सञ्जालकी केन्द्रीय सचिव लक्ष्मी आचार्य, अधिकारकर्मीहरू बिमला योगी, सुष्मा गिरीलगायतले सुझाव दिनुभएको थियो ।

जयनारायण पुन