नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

सिन्धुली । २०७७ पुस १० गते

 

सिन्धुलीमा पुस १० गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सन् २०२० भित्र जिल्लामा सङ्कलन गरिएका १ सय १५ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका बारेमा समीक्षा गरिएको थियो । कार्यक्रममा सरोकारवालाले घरको शिक्षा (स्कुलिङ) राम्रो भएमा मात्र मानवअ धिकार उलङ्घन तथा ज्यादतीका घटनामा कमी ल्याउन सकिने बताएका छन् । समीक्षा कार्यक्रममा बोल्दै कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्रीले घरभित्रको शिक्षा (स्कुलिङ) ले हिंसा न्युनीकरण गरी मानव अधिकार संरक्षणमा सहयोग पुर्‍याउने बताउनु भएको हो । उहाँले मानव अधिकार संरक्षणका लागि बनेका कानुन किन बने ? घटना के कारणले हुन्छन ? र त्यसको प्रभाव के हुन्छ ? भन्ने बारेमा घरबाटै सिकाउन जरुरी रहेको बताउनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले कानुनलाई आधार मानेर काम गर्दा कहिलेकाहीँ न्याय कमजोर हुन जाने बताउनु भयो । प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्ला प्रशासन कार्यालयले उमेर नपुगि विवाह गरेकाहरूको नागरिकता बनाउँदा २० वर्ष नपुगि नागरिकता नदिने व्यवस्थालाई लागु गर्न खोज्दा बालबालिकामा प्रभाव परेको समेत बताएउनु भयो ।

अन्तर्पार्टी महिला सञ्जाल सिन्धुलीका अध्यक्ष सविता कोइरालाले दबाब, प्रभावका कारण मानव अधिकार उलङ्घनका घटनामा बृद्धि भएको बताउँदै संवेदनशीलताको खाँचो रहेको बताउनु भयो । उहाँले पनि पारिवारिक सम्बन्धमा हुने निकटता र भोटसँग हिंसाको तुलना हुँदा न्यायको पहुँचमा पीडित पुग्न नसकेको बताउनु भयो । कार्यक्रममा बोल्दै नेपाल बार एसोसिएसन जिल्ला बार इकाई सिन्धुलीका अध्यक्ष जंगबहादुर राईले पछिल्लो कानुन र अवाञ्छनिय दबाब र प्रभावले न्याय प्रणालीमा प्रभाव परेको बताउनु भयो । राईले पछिल्लो फौजदारी कानुनले निर्दोष व्यक्तिलाई समेत न्यायको फन्दामा पर्न बाध्य पारेकाले मुद्दा दर्तादेखि नै संवेदनशीलता अपनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले बालविवाहको अवस्था, कानुनमा भएको बाझिएका प्रावधान तथा त्यसले निम्त्याएको सामाजिक समस्याका बारेमा इन्सेकले प्रतिवेदनमा उल्लेख गर्नुपर्नेमा जोड दिएका थिए । जिल्लाका दलित, जनजाति, मुसहर डोम लगाएतका समुदायमा गरिने बालविवाहका बारेमा पनि छलफल भएको थियो । पूर्व वार्षिक समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधि विमला पाण्डेले एक वर्षको अवधिमा जिल्लामा अभिलेख भएका मानव अधिकार उलङ्घन तथा ज्यादतीका घटनामा सबैभन्दा बढी महिला र बालिका प्रभावित भएको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदन मा राज्य भन्दा गैह्र राज्य पक्षबाट हुने घटनाको सङ्ख्या बढ्दो रहेको पाइएको छ । जसमा घरेलु हिंसा ५२, बलात्कार ३०, बाल यौन दुरुपयोग दुई, बलात्कार प्रयास दुई, बोक्सीको आरोप चार, अपहरण तथा शरीर बन्धक दुई, परिवारजनबाट हत्या दुई, बहुविवाह १४, बालविवाह दुई ओटा लगाएतका घटना रहेका छन् ।

बिमला पाण्डे