नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा सम्पन्न
सुर्खेत । २०७७ पुस १३ गते
इन्सेक दैलेखको आयोजनामा पुस १३ गते सदरमुकाम दैलेख बजारमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले सन २०२० जनवरी देखि डिसेम्बरसम्म जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्याददिका ७२ वटा घटनाहरु प्रस्तुत गर्नुभएको थियो । जस अन्तर्गत २५ वटा बहु विवाह, १२ बलात्कार, ८ वटा बाल विवाह, ५ वटा यौन दुव्र्यवहार, ५ वटा हत्या, ५ वटा अभद्र व्यवहार, ३ वटा आत्महत्या दुरूत्साहन, ३ वटा घरेलु हिंसा, २ वटा बाल यौन दुव्र्यवहार, २ वटा बालबालिका माथि कुटपिट र २ वटा क्वारेण्टीनमा कुटपिट गरी ७२ वटा घटनामा ८० जना पीडित भएका छन् । कार्यक्रममा जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेले समाज शान्ति र अमनचैन कायम गर्न अपराधलाई निरूत्साहित पार्ने सामाजिक अभ्यासको जरूरी रहेको बताउनु भयो ।
न्यायाधीश लामिछानेले अपराध घटनामा आएका उजुरी उपर उचित छानबिन र अनुुसन्धान प्रभावकारी बनाउन सकिए मात्र न्याय निरूपण प्रभावकारी हुनसक्ने बताउनुभयो । यस्तै दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले पीडितले न्याय पाउन सहज हुने भएकोले मानव अधिकार वर्ष पुस्तक वा आमसञ्चार माध्ययमले लुकेका घटना खोजी गर्न सुझाव दिनुभयो । यसैगरी जिल्ला सरकारी वकील कार्यालयका निमित्त जिल्ला न्यायाधिवक्ता नवराज रेग्मीले बलात्कार घटनामा पीडितलाई प्रभावित पार्ने वा होष्टाइल गराउनेहरूलाई कारवाही गर्ने कानुन आएको र कडाईका साथ कार्यान्वयन गरिने बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले बास्तविक पीडितहरूको आत्मबल बढाउन समुदाय र स्थानीय सरकारको तत्परता अझैं जरूरी रहेको औंल्याउनुभयो । इन्सेकको इएलपी कार्यक्रम अन्तर्गत नारायण नगरपालिका स्तरीय मानव अधिकार समूहका संयोजक रेखा थापाको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक समाजका अगुवा र सञ्चारकर्मीहरूको उपस्थिति थियो ।
इन्सेक कर्णाली प्रदेश कार्यालय