नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा गोष्ठी सम्पन्न

महोत्तर । २०७७ पुस १५ गते

 

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि महोत्तरीमा सङकलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्याद्तीका घटनाहरुको प्रकाशन पूर्व पुस १४ गते वर्दिवासमा वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक प्रतिनिधि अजयकुमार साहले सन् २०२० जनवरीदेखि डिसेम्बरसम्म जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ८१ ओटा घटना प्रस्तुत गर्नु भएको थियो ।जसअन्तर्गत बहुविवाह ११, बलात्कार ४०, बलात्कार प्रयास १४, बाल यौन दुर्व्यवहार तीन, अप्राकृतिक मैथुन एक, अपहरण तथा शरिर बन्धक तीन, बोक्सीको आरोपमा तीन, हत्या तीन र प्रहरीको गोली लागी दुई जनाको मृत्यु घटना सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा वर्दिवास नगरपालिकाका न्यायिक समितिका संयोजक तथा उपमेयर सुशीला गौतमले अपराध घटनामा आएका उजुरी उपर उचित छानविन र अनुसन्धान प्रभावकारी बनाउन सकिए मात्र न्याय निरूपण प्रभावकारी हुन सक्ने बताउनु भयो । वर्दिवास नगर पत्रकार संजालका सचिव राजकरण महतोले पीडितले न्याय पाउन सहज हुने भएकोले मानव अधिकार वर्ष पुस्तक वा आमसञ्चार माध्ययमले लुकेका घटना खोजि गर्न सुझाव दिनु भयो । यसैगरी महिला अधिकारकर्मी पवित्रा देवकोटाले बलात्कार घटनामा पीडितलाई प्रभावित पार्ने वा मिलापत्र गराउनेहरूलाई समेत कारवाही गरिनु पर्नेमा जोड दिनु भयो ।

पत्रकार तथा महिला अधिकारकर्मी सुनिता बरालले बास्तविक पीडितहरूको आत्मबल बढाउन समुदाय र स्थानीय सरकारको तत्परता अझै जरूरी रहेको औँल्याउनु भयो । इन्सेकले गठन गरेको वर्दिवास नगरपालिका स्तरीय मानव अधिकार समूहका संयोजक उर्मिला कार्कीले घरको शिक्षा (स्कुलिङ) राम्रो भएमा मात्र मानव अधिकार उल्ङ्लघन तथा ज्याद्तीका घटनामा कमी ल्याउन सकिने बताउनु भयो । अन्तरपार्टी महिला सञ्जाल सिन्धुलीका अध्यक्ष रिकुमाया पराजुली र पत्रकार निकेश खनालले मानव अधिकार संरक्षणका लागि कानुनी सचेतना तथा जनचेतना मुलुक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यक्ता गरेको बताउनु भयो ।

इन्सेक प्रदेश २ का प्रमुख राजु पासवानले कानुन र अवाञ्छनीय दबाब र प्रभावले न्याय प्रणालीमा प्रभाव परेको बताउनु भयो । पासवानले पछिल्लो फौजदारी कानुनले निर्दोष व्यक्तिलाई समेत न्यायको फन्दामा पर्न बाध्य पारेकाले मुद्दा दर्तादेखि नै संवेदनशिलता अपनाउन आवश्यक रहेको उल्लेख गर्नु भयो । उहाँले दबाब, प्रभावका कारण मानव अधिकार उल्लङ्घनका घटनामा बृद्धि भएको बताउँदै संवेदनशिलताको खाँचो रहेको बताउनु भयो । कार्यक्रमका सहभागिहरुले नेपाल मानव अधिकार वर्ष पुस्तकले सरकारलाई मानव अधिकारको अवस्था झल्काउन र मानव अधिकारप्रति जबाफदेही बनाउन सहयोग पुगेको बताएका छन् । वक्ताहरुले बालविवाहको अवस्था, कानुनमा भएको बाझिएका प्रावधान तथा त्यसले निम्त्याएको सामाजिक समस्याका बारेमा इन्सेकले प्रतिवेदनमा उल्लेख गर्न सुझाव दिए । गरिब, असहाय र दलितहरुले जनता आवास कार्यक्रमको नाममा भोग्दै गरेका समस्या, पर्यावरणसम्बन्धी समस्या, चुरे दोहन लगायत आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका पाटोमा समेत प्रतिवेदनमा समावेश गर्नु पर्नेमा सहभागीहरुले जोड दिएका थिए ।

इन्सेक प्रदेश २ कार्यालय, जनकपुर