नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
दोलखा । २०७७ पुस १६ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशन गरीने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को पूर्व समीक्षा कार्यक्रम पुस १६ गते चरिकोटमा सम्पन्न भएको छ । सन् २०२० मा जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा एक जना पुरुषसहित ५० जना पीडित भएका छन् । जसमा बलात्कारका २२ ओटा, बलात्कार प्रयासका सात ओटा, यौन दुव्र्यवहारका ६ ओटा, कथित बोक्सी आरोपको एक ओटा, बहुबिवाहका ११ ओटा, कुटपिटका दुई ओटा, आत्महत्या दुरुत्साहन एक ओटा रहेका छन् । कार्यक्रमा प्रमुख अतिथि जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले समाजमा हुने यस्ता अपराधजन्य गतिविधि नियन्त्रणका लागि प्रशासनिक कारबाहीका साथै समाजले यस्ता आपराधिक घटना हुनुको कारणका बारेमा चनाखो हुनुपर्ने बताउनु भयो । मानव अधिकार उल्लङ्घनका घटनामा पनि विशेष गरी महिला तथा बालबालिका पीडित हुनु अनि बलात्कार तथा बलात्कारका प्रयासमा बालबालिका बढी पीडित भएको तथ्याङ्कले समाज आपराधिक गतिविधि तर्फ उन्मुख देखिएको उहाँको धारणा थियो ।

इन्सेकद्वारा प्रकाशित वर्ष पुस्तकमा प्रकाशित सूचनाले थप लुकेका घटना खोजबिनका लागि स्थानीय तह, प्रशासनिक निकाय, सञ्चारमाध्यलाई लागि पर्न पाण्डेले आग्रह गर्नुभयो । नेपाल बार एसोसिएसन दोलखाका अध्यक्ष सरोज उप्रेतीले पीडीतलाई आत्महत्या गर्न बाध्य पार्नेसम्मका कार्यले मानव अधिकार संरक्षणमा थप चुनौति दिएको हुँदा यस्ता कार्य निरुत्साहित गर्न कानुन कडाईका साथ लागु गर्नुपर्ने बताउनु भयो । नेपाल पत्रकार महासङ्घ, दोलखा शाखाका अध्यक्ष जीवन लामाले समाजमा दिनानुदिन मानव अधिकार हनन् गर्ने नयाँ तरिकाको बिवकास भएको हुँदा नियन्त्रण गर्न आमसञ्चार माध्यमको समेत महत्वपूर्ण भूमिका रहेको तर्फ ध्यानाकर्षण गराउनु भयो । महिला अधिकारकर्मी सिर्जना कार्कीले मानव अधिकार हननबाट सबैभन्दा बढी महिला र बालबलिका पीडित भएकोले यसको न्यूनिकरणका लागि समाजले थप जिम्मेवारी बोध गरी कानुनको पालनाका साथै सचेतनाका कार्यक्रम समेत चलाउनु पर्ने बताउनु भयो ।
उद्धव पोखरेल
HUMAN RIGHTS NEWS PORTAL






