नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

मकवानपुर । २०७७ माघ २ गते

 

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ २ गते हेटौँडामा सम्पन्न भएको छ ।   कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीले सन् २०२० जनवरीदेखि डिसेम्बरसम्म जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ६२ ओटा घटनामा ६३ जना पीडित भएको अभिलेख प्रस्तुत गर्नु भएको थियो । जसमा ५० जना महिला, १२ जना पुरुष र एक लैङ्गिक तथा अल्पसङ्ख्यक व्यक्ति पीडित भएको इन्सेक प्रतिनिधि अधिकारीले जानकारी दिनुभयो ।

यस्तै बालअधिकार उल्लङ्घनका घटनामा १२ जना बालिका बलात्कारबाट, ६ जना यौन दुर्व्यवहारबाट पीडित, एक बालिका मानव बेचबिखन तथा ओसारपसार प्रयास र एक नवजात शिशुको हत्या भएको उहाँले बताउनुभयो । महिला अधिकार उल्लङ्घनका घटनामा २२ जना बलात्कारबाट, पाँच जना बलात्कार प्रयासका घटनाबाट पीडित भएका छन् । सन् २०२० मा घटेका बलात्कारका घटनामध्ये तीन ओटा बलात्कार र एक यौन दुर्व्यवहारका घटना परिवारजनबाट भएको छ भने परिवारजनबाटै दुई जनाको हत्या भएको छ । यस्तै एक लैङगिक तथा अल्पसङ्ख्यक व्यक्तिको बलात्कारपछि हत्या भएको घटना अभिलेख भएको छ । इन्सेक प्रतिनिधि अधिकारीका अनुसार सन् २०१९ मा भन्दा २०२० मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा बृद्धि भएको छ । गतवर्ष जिल्लामा अन्यपक्षबाट ४६ जना महिला र पाँच जना पुरुषसहित ५१ जना र राज्यपक्षबाट दुई पुरुष गरी ५३ जना पीडित थिए । जसमा बालअधिकार उल्लङ्घनका घटनामा २३ जना र महिला अधिकार उल्लङ्घनका घटनामा १९ जना पीडित थिए । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीले अपराध घटनामा आएका उजुरी उपर उचित छानबिन र अनुसन्धान प्रभावकारी बनाउन सकिए मात्र न्याय निरूपण प्रभावकारी हुन सक्ने बताउनु भयो ।

यस्तै उहाँले जघन्य अपराधसँग सम्बन्धित घटनाहरू अदालतबाट छिटो न्यायिक फैसला नहुँदा पीडितहरूलाई झन बढि पीडा थप हुने बताउनुभयो । उप्रमुख पुडासैनीले राज्यले जघन्य अपराधसँग जोडिएका मुद्दाहरूलाई फास्टट्रयाकबाट गर्न भने पनि अदालतमा कार्यान्वयन नहुँदा समस्या हुँदै आएको बताउनुभयो । अदालतका न्यायाधीशहरूले मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका मुद्दाहरूलाई फास्टट्रयाक कोर्ट मार्फत फैसला गराउने वातावरण निर्माणको लागि सबै पक्षले आवाज उठाउनुपर्नेमा उहाँको जोड थियो ।

नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश अध्यक्ष प्रताप विष्टले इन्सेकले लामो समयदेखि मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूलाई अभिलेख गरी दस्तावेजको रूपमा तयार पार्दे आएको नेपाल मानव अधिकार वर्ष पुस्तक पीडितलाई न्याय दिलाउन पनि सहयोगी बन्ने गरेको बताउनुभयो । यस्तै पीडितले न्याय पाउन सहज हुने भएकोले मानव अधिकार वर्ष पुस्तक वा आमसञ्चार माध्ययमले लुकेका घटना खोजि गर्न पनि उहाँले सुझाव दिनु भयो । कार्यक्रममा जिल्ला बार एसोसियसनका पूर्व अध्यक्ष तथा मानव अधिकार तथा जनसरोकार समितिका संयोजक अधिवक्ता इश्वरी अधिकारीले एक वर्षको अवधिमा दर्ता भएका मुद्दाहरूमध्ये पाँचओटा मात्रै फैसला हुनुले अदालती प्रकृयाको अवस्था चित्रण हुने बताउनुभयो । अझै पनि न्यायाधीशहरूमा पीडितलाई छिटो न्याय दिनुपर्छ भन्ने मानसिकता नदेखिएको भन्दै यसबारे अधिकारकर्मी तथा पत्रकारहरूले आवाज उठाउनुपनर्नेमा उहाँले जोड दिनुभयो ।

इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा