नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
तनहुँ । २०७८ असार २४ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा मानवअधिकार वर्ष पुस्तक २०२२ को लागि सङ्कलित घटनाहरूको अर्ध वार्षिक पूर्व समिक्षा तथा जिल्लाको मानवअधिकार अवस्थाको बारेमा छलफल कार्यक्रम असार २४ गते दमौलीमा सम्पन्न भयो ।मानवअधिकार वर्ष पुस्तकको लागि सङ्कलित घटनाहरूको बारेमा सरोकारवाला निकायको सुझाव सङ्कलन गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको थियो ।इन्सेक तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले सन २०२१ को ६ महिना (जनवरीदेखि जुनसम्म) जिल्लाको मानवअधिकार अवस्था तथा मानवअधिकार वर्ष पुस्तकको लागि सङ्कलित घटनाहरूको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
यस अवधिमा इन्सेकले तनहुँमा ५३ ओटा मानव अधिकार हननका घटनाहरू अभिलेख गरेको छ । कार्यक्रममा ती घटनाहरू प्रस्तुत गरी सरोकारवाला निकायको सुझाव समेत सङकलन गरिएको थियो । कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले अहिलेको सन्दर्भमा स्वास्थ्य नै सबैभन्दा महत्वपूर्ण र अधिकारको सबैभन्दा ठुलो विषय रहेको पुष्टि भएको बताउनुभयो । स्वास्थ्य रहे नै अन्य अधिकारहरू प्रत्याभुती र उपभोग गर्न पाइने भएकोले सबैले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्न र कोभिड महामारीबाट बच्न स्वास्थ्य मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने बताउनु भयो । कोभिडको दोश्रो लहर सुरू भएपछि तनहुँमा ३ हजार ४ सय ७६ जना कोभिड संक्रमित भएकोमा २ हजार ९ सय २२ जना निको भइ हाल ४ सय ६७ जना अझै सक्रिय संक्रमित रहेको अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला कार्यालय सचिव राजेश्वर ढकालले संविधानले पनि मानवअधिकारका केही विषय वस्तुलाई मौलिक हकको रूपमा व्यवस्था गरेको हुँदा ती हकहरू जनताले प्रत्याभुत गर्न पाउनुपर्ने उनले बताउनुभयो । स्वास्थ्य, शिक्षा, खाद्य र आवासको अधिकारलाई पनि प्रमुखताका साथ उठान गर्नुपर्ने उहाँको भनाइ छ । नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष उज्वल पौडेलले मानवअधिकार वर्ष पुस्तक एउटा महत्वपुर्ण दस्तावेज भएको बताउनुभयो । इन्सेकको प्रतिबेदन र पुस्तक सन्चारकर्मीहरूकोलागि महत्वपुर्ण श्रोत सामाग्री भएको उहाँले बताउनुभयो । मानवअधिकार निगरानी समूहका सदस्य एवमं आदिवासी जनजाती महासङ्घकी अध्यक्ष बसुन्धरा घर्तीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सहभागीहरूले पछिल्लो समयमा महिला तथा बालबालिका र जेष्ठ नागरिकहरू पीडित हुँदै गएको बताए । मानवअधिकार वर्ष पुस्तकले जिल्लाको मानवअधिकारको यथार्थ जानकारी दिने हुँदा यसमा महिला तथा बालबालिका पीडित भएका घटना समावेश गर्नुपर्ने उनीहरूको भनाइ थियो ।
प्रकाशचन्द्र भट्टराई