नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा सम्पन्न
सुनसरी । २०७८ असार २८ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि वर्ष पुस्तक प्रकाशन पूर्व अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार २८ गते सम्पन्न गरिएको छ । सन् २०२१ जनवरीदेखि जुन महिना सम्मको अवधिमा इन्सेकले जिल्लामा अभिलेखीकरण गरेका घटनाहरूमाथि सरोकारवालाबिच समीक्षा सम्पन्न गरिएको हो । ६ महिनाको अवधिमा जिल्लामा राज्य पक्षबाट भएका ६ ओटा घटनालाई इन्सेकले अभिलेख गरेको छ । प्रहरीबाट यातना र कुटपिट घटना तीन ओटा, भोक्राहा नरसिंहका गाउँपालिकाका वडाध्यक्षद्घारा बालिका बलात्कार, हरिनगर माध्यमिक विद्यालयका शिक्षकले विद्यार्थीलाई दिएको यातना, पत्रकारलाई धम्की दिएको दुई ओटा घटनामाथि समीक्षा गरिएको छ । गैरराज्य पक्षबाट भएका बलात्कारका ४५ ओटा र बाल यौन दुर्व्यवहारका चार ओटा, बालविवाहका तीन ओटा, बहुविवाह १० ओटा, हत्याका दुई ओटा इन्सेकले अभिलेखीकरण गरेको तथ्याङ्क पूर्व समीक्षा कार्यक्रममा राखिएको छ ।
सरकारी कर्मचारी र सम्मत्ति आक्रणमका दुई ओटा घटना, शिक्षक कुटपिटको एक ओटा घटना, गर्भपतनको एक ओटा, मानव बेचविखन प्रयास तथा ओसारपसारका एक ओटा घटना ६ महिनाको अवधिमा इन्सेकले जिल्लामा अभिलेख गरेको जानकारी दिइएको छ । बलात्कार तथा यौन दुर्व्यवहार घटनाका पीडितमा १० वर्ष मुनिका चार जना , १० देखी १७ वर्षका ३० जना र १८ देखी २८ वर्षका १३ जना, २८ देखी ३८ वर्षका चार जना र सो भन्दा माथिका तीन जना रहेको इन्सेकले अभिलेख गरेको छ । बाबुबाट छोरी बलात्कारका दुई ओटा घटनामाथि इन्सेकले सरोकारवालाबिच समीक्षा गरेको छ । सन् २०२२ मा प्रकाशन हुने नेपाल मानव अधिकार वर्ष पुस्तकका जिल्लामा ६ महिनाको अवधिमार राज्यबाट ६ ओटा र गैर राज्यबाट ७७ ओटा गरी ८३ ओटा घटनाहरू इन्सेकले अभिलेख गरेको छ ।
समीक्षा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकार उमेशकुमार पाण्डेले जिल्लामा मधेशी समुदायको बढी बसोवास भएका कारण दाइजोजनित घटना बढी हुने भएकाले त्यस किसिमका घटना न्यूनीकरणका लागि इन्सेकले समेत सचेता अभियान चलाउन आवश्यक रहेको बताउनु भयो । उहाँले इन्सेकले प्रकाशन गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक दस्तावेज भएका कारण सबै सरोकारवालाबिच छलफल गर्नु सकारात्मक रहेको बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्रकुमार कार्कीले कहिँले काँही मानव अधिकार रक्षाका लागि राज्यले बल प्रयोग गर्दा अर्को पक्षको मानव अधिकार उल्लङ्घन भएको जस्तो देखिए पनि मानव अधिकारको वास्तविक अर्थ पीडितले न्याय पायो वा पाएन भन्ने विषयमा जोडिने बताउनु भयो । उहाँले इन्सेकले सुक्ष्म ढङ्गले घटनाहरू अभिलेखीकरण गरेको बताउँदै मानव अधिकार रक्षाका लागि प्रहरी प्रशासनसँग इन्सेकले मिलेर कार्य गर्न आवश्यक रहेको बताउनु भयो ।
जिल्लास्तरीय कोभिड–१९ द्रुत प्रतिकार्य समूह सुनसरीका संयोजक मेघराज न्यौपानेले महामारीका समयमा स्वास्थ्य अधिकारबाट धेरै नागरिक वञ्चित भएको विषयमा इन्सेकले छुट्टै दस्तावेजीकरण गर्न आवश्यक रहेको बताउनु भयो । समीक्षामा अधिकारकर्मी तोया गिरीले स्वास्थ्य सेवाको अवस्था, प्रहरीको काम कारबाहीमा सुधार आवश्यक रहेको बताउनु भयो । अधिकारकर्मी चुन्नी खातुन सोनियाले महिला तथा बालबालिकामाथि हुने यौनजन्य घटनाको मुख्य कारण लागू औषध र मदिरा रहेको बताउनु भयो । समीक्षामा पत्रकार अजमल अन्सारीले जिल्लामा ६ ओटा सरकारी अस्पताल, चार ओटा सामुदायिक अस्पताल, ४९ ओटा स्वास्थ्य चौकी, पाँच ओटा प्राथमिक स्वास्थ्य केन्द्र, ६२ ओटा नगर स्वास्थ्य केन्द्र रहेकोमा धेरै जसो स्वास्थ्य संस्थामा जनशक्ति अभाव भएकाले नागरिकको स्वास्थ्य अधिकार प्रभावित हुँदै आएकाले त्यसको सुधारका लागि सरोकारवालालाई सुझाव दिनु भएको थियो ।
जयकृष्ण यादव