नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
धनुषा । २०७८ असार ३० गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार २९ गते सम्पन्न गरिएको छ । सन् २०२१ जनवरीदेखि जुनसम्मको अवधिमा इन्सेक धनुषा प्रतिनिधि दिपेन्द्र प्रसाद सिंहले जिल्लामा अभिलेखिकरण गर्नुभएका घटनाहरूको समीक्षा गरिएको हो । जिल्लामा यो अवधिमा ४९ ओटा मानव अधिकार उल्लङ्घनका घटना अभिलेख गरिएको इन्सेक धनुषा प्रतिनिधि सिंहले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यो अवधिमा बलात्कारका घटना बढी भएको प्रतिवेदनमा उल्लेख छ । जिल्लामा अभिलेखित घटनामध्ये १० जना महिला र ११ जना बालिका बलात्कार घटनामा पीडित भएका छन् । तीन जना महिला र दुई जना पुरुषको हत्या भएको प्रतिवेदनमा उल्लेख छ । कुटपिट घटनामा चार जना, हिरासतमा यातनाका घटनामा दुई जना, यौन दुर्व्यवहारका घटनामा चार जना, अज्ञात पक्षद्वारा एक विद्यालयमा आगजनी, बेचविखन तथा ओसारपोसारको घटनामा एक जना पीडित भएका उल्लेख छ ।
यो अवधिमा एक जना बालकलाई अपहरण गरी हत्या गरेको र बहुविवाहका घटनामा चार जना महिला पीडित भएका अभिलेख गरिएको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा एड्भोकेसी फोरम नेपाल प्रदेश २ का संयोजक राजकुमार महासेठले मानव अधिकार उल्लङ्घनका घटनाको अनुगमन गर्दा अभियन्ता भावनामा बग्दै आएकाले विश्वसनीयतामा असर पर्ने गरेको बताउनु भयो । नेपाल बार एशोसिएशन जनकपुरका निवर्तमान अध्यक्ष रामनेक साहले इन्सेकले जिल्ला जिल्लामा मानव अधिकार उल्लघङ्नका घटनाहरू सङ्कलन गरेर अभिलेखिकरण, समीक्षा र सार्वजानिक गर्ने गरेकाले मानव अधिकार संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको बताउनु भयो । इन्सेकलगायत मानव अधिकारका क्षेत्रमा क्रियाशील सङ्घसंस्थाहरूले जनचेतना फैलाउने, घटनाको अनुगमन गर्ने, सही तथ्य सङ्कलन गर्ने लगायतको काम गर्दै आएको उहाँले बताउनु भयो ।
इन्सेक प्रदेश २ प्रमुख राजु पासवानले वर्षेनी जिल्ला जिल्लामा घटेका मानव अधिकार उल्लङ्घनका घटनाहरुलाई केलाएर इन्सेकले नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको बताउनु भयो । जिल्लामा घटेका घटनाको सङ्ख्या, पीडितको अवस्था, अनुसन्धानको क्रममा भएका गतिविधि र अदालतले गरेको फैसलाबारे जिल्ला प्रतिनिधिहरूले नियालेर घटना ल्याउने गरेकाले यो कार्यले घटनाको सही, तथ्या र वस्तुपरकमा स्पष्टता थपिँदै आएको बताउनु भयो । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ का मानव अधिकार अधिकृत मनमाया राना मगरले धनुषालगायत प्रदेश २ मा महिला, बालबालिका, ज्येष्ठ नागरिकलगायतका जातीय विभेदको घटनाहरू अन्य प्रदेश भन्दा बढी हुने गरेको बताउनु भयो । हामीले विभिन्न घटनाहरूमा इन्सेकलगायतको मानव अधिकारको क्षेत्रमा कार्यरत सङ्घसंस्थाहरुको समन्वयमा काम गर्दै आएकाले आगामी दिनमा समन्वय र सहकार्यलाई निरन्तरता दिने बताउनु भयो । जिल्ला प्रहरी कार्यालय धनुषाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका हवल्दार किशोरीप्रसाद यादवले धनुषामा अझै जनचेतनाको कमी रहेको बताउनु भयो । उहाँले यहाँ दैनिक जसो बालविवाह, बहुविवाह, कुटपिट, झैझगडा लगायतका घटना आउने गरेकाले विभिन्न सङ्घसंस्थाहरूले जनचेतना फैलाउने काम गर्दै आएको भएपनि अझै पनि ग्रामीण तहसम्ममा जनचेतनाको कमी नै रहेको बताउनु भयो ।
एनपिआई प्रदेश २ संयोजक विनोद महराले मानव अधिकारको अवस्था र घटनाहरू सङ्कलन गरेर इन्सेकले वर्षेनी मानव अधिकार वर्ष पुस्तक नै प्रकाशन गर्नु निकै सराहनीय र उदाहरणीय काम भएको बताउनु भयो । समता फाउण्डेशनका प्रदेश अधिकृत रामपुकार महराले इन्सेकले समग्रमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू सङ्कलन गरेर अभिलेखिकरण गर्दै आउनु निकै राम्रो पक्ष भएको बताउनु भयो । उहाँले इन्सेककै यो वर्ष पुस्तक प्रकाशनबाट अभिप्रेरित भएर समता फाउण्डेशनले आउने वर्षमा दलित मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्न लागेकोसमेत बताउनु भयो । ओरेक नेपाल धनुषाका परियोजना संयोजक रोजलिन सिंह बछारले समाजमा महिलाहरूको हत्या नौलो तरिकाले हुँदा आएकाले अधिकारकर्मीहरू सचेत हुन जरूरी रहेको बताउनु भयो । निलहिरा समाजका प्रदिप यादवले यौनिक अल्पसङ्ख्यकहरूमाथि घटनाहरू भइरहेको भएपनि दस्तावेजीकरण हुन नसकेको बताउनु भयो ।
दिपेन्द्रप्रसाद सिंह