नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
डडेल्धुरा । २०७८ असार ३१ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक पूर्व समीक्षा असार ३० गते अमरगडीमा सम्पन्न भएको छ । सन् २०२१ जनवरीदेखि जुनसम्मको अवधिमा इन्सेकले जिल्लामा अभिलेखिकरण गरेका घटनाहरूमाथि सरोकारवालाबिच समीक्षा सम्पन्न गरिएको हो । ६ महिनाको अवधिमा जिल्लामा गैरराज्य पक्षबाट बलात्कारका एक, यौनदुर्व्यवहारका एक, घरेलु हिंसाका २१ र हत्याका दुई ओटा गरी जम्मा २५ ओटा घटनाहरु इन्सेकले अभिलेखिकरण गरेको पूर्व समीक्षा कार्यक्रममा इन्सेक डडेल्धुरा प्रतिनिधि भुपेन्द्र बिष्टले जानकारी गराउनु भएको थियो । मानव अधिकार समुहका संयोजक अधिवक्ता विष्णु भट्टले इन्सेकले मानव अधिकार उल्लङ्घनका घटनाहरुको अभिलेखिकरण गर्नुका साथै जनस्तरमा पनि अधिकार सम्बन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले भन्नु भयो– ‘वर्ष पुस्तकमा प्रकासन गरिने घटनाहरुका सम्बन्धमा सबै सरोकारवालाबिच छलफल गरी घटना पुर्नपुष्टि गर्नु सकारात्मक कार्य हो ।’
नेपाल पत्रकार महासंघ, डडेल्धुराका अध्यक्ष हिक्मतबहादुर सिंहले आफ्नो अधिकारका बारेमा जानकारी हुन नसक्दा धेरै घटनाहरु बाहिर आउन नसकेकाले सरोकारवालाहरुले अधिकारका बारेमा जनचेतनामुलक कार्यक्रम गर्नु आवश्यक रहेको बताउनु भयो । जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका इन्स्पेक्टर राजेन्द्रबहादुर चन्दले इन्सेकले जिल्लामा मानब अधिकार उल्लङ्घनका घटनाहरु अभिलेखिकरण गरेकोमा धन्यवाद दिदै सम्पूर्ण नागरिकहरुको अधिकार रक्षाका लागि प्रहरी प्रशासन प्रतिवद्ध रहेको र मानव अधिकारको संरक्षणका लागि इन्सेकसँग सहकार्य गर्दै अगाडी बढ्ने प्रतिवद्धता जाहेर गर्नु भयो । पत्रकार पुष्कर भण्डारीले जिल्लामा खाद्य तथा स्वास्थ्य अधिकारको क्षेत्रमा गुणात्म सुधार हुन नसकेकोले यसका लागि सम्बन्धीत निकायले ध्यान दिन आवश्यक रहेको बताउनु भयो । जिल्ला सदरमुकामका स्वास्थ्य चौकी तथा अस्पतालहरुमा औषधि अभाव तथा अखाद्य सामाग्रीहरु विक्री वितरण भइरहेको जनगुनासो बढ्दै गइरहेकाले यस विषयलाई पनि इन्सेकले वर्ष पुस्तकमा समावेश गर्न आवश्य भएको पत्रकार भण्डारीले सुझाव दिनु भयो ।
भूपेन्द्र बिष्ट