नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न
धादिङ । २०७८ असार ३१ गते
अनौपचारिक क्षेत्र सेवाा केन्द्र (इन्सेक) द्वारा प्रकाशन हुने ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२’ को लागि सन् २०२१ को जनवरीदेखि जुनसम्म जिल्लामा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार ३१ गते धादिङबेसीमा सम्पन्न भयो । जिल्लामा यस ६ महिनाको अवधिमा २१ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख भएको प्रतिवेदन इन्सेक जिल्ला प्रतिनिधिले प्रस्तुत गर्नुभएको थियो । जसमध्ये कुटपिटबाट दुई जना स्वास्थ्यकर्मी, दुई जना अधिकारकमर्मी, एक जना राजनीतिककर्मी घाइते भए । यसैगरी कथित बोक्सीको आरोपमा एक जना, बलात्कार र बलात्कार प्रयासका पाँच ओटा, बाल यौन दुर्व्यवहारका पाँच र १ सय ५० जना विद्यार्थीमाथि शिक्षकहरूले गरेको दुर्व्यवहारको एउटा घटना इन्सेकले अभिलेख गरेको कार्यक्रममा जानकारी गराइएको थियो ।
जिल्लाको मानव अधिकारको अवस्थाबारे भएको छलफलमा सहभागीहरूले कोभिड १९ विरुद्धको खोप कार्यक्रममा अनियमितता भएको गुनासो व्यक्त गरेका थिए । कोभिड १९ विरुद्धको खोपको, व्यवस्थापनका बारेमा धादिङ स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर अधिकृत श्यामप्रसाद पोखरेलले जानकारी दिनुभएको थियो । उहाँले यसअघि सञ्चालित खोप कार्यक्रममा अनियमितता भएकोले आगामि दिनमा तोकिएका उमेर समूहले लगाउन आग्रह गर्नु भयो । जिल्ला सरकारी वकिल खेम पाठकले कोभिड १९ विरुद्धको खोप मानव अधिकार अन्तरगत नागरिकको अधिकार भएको बताउनु भयो । मानव अधिकारका विषयवस्तु बालबालिका र महिला माथिका यौन दुर्व्यवहारका घटनाहरु प्रकाशन गर्दा दोहोरो तथ्यजाँच गरेर प्रकाशन गर्न उहाँले आग्रह गर्नु भयो ।
पाठकले सरकारले उपलब्ध गराएको खोपका बारेमा नागरिकहरूलाई सचेत बनाउँदै प्राथमिकता अनुसार व्यवस्थापन गर्न आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा नेपाल बार एसोसिएसन धादिङका अध्यक्ष कृष्णराज अधिकारी, अधिवक्ता विश्वराज अधिकारी, रामकृष्ण अधिकारी, नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष सानुबाबु तिमल्सिना, सरिता श्रेष्ठ, महिला अधिकारकर्मी गायत्री खतिवडा, अधिकारकर्मी श्याम मगराती, बेगबहादुर सुनार लगायतले मानव अधिकार वर्ष पुस्तकमा स्वास्थ्यको अधिकारबारे उल्लेख गर्न आग्रह गर्दै सबैको पहुँचमा नेपाल मानव अधिकार वर्ष पुस्तक पुर्याउन आग्रह गरेका थिए ।
सीताराम अधिकारी