नेपाल मानव अधिकार वर्ष पुस्तकको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न
काठमाडौँ । २०७८ असार ३१ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) काठमाडौँ जिल्लाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रम असार ३१ गते काठमाडौँमा सम्पन्न भएको छ । कार्यक्रममा सन् २०२१ को जनवरीदेखि जुनसम्म ६ महिनाको अवधिमा जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अवस्थाको प्रतिवेदन प्रस्तुत गरिएको थियो । जिल्ला प्रतिनिधिले प्रस्तुत गरेको प्रतिवेदनमा जिल्लामा १ सय ३८ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू अभिलेख गरिएको थियो । जसमा राज्य पक्षबाट सात ओटा र अन्य पक्षबाट १ सय ३१ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना रहेका छन् । बालिका बलात्कारका ५३, यौन दुर्व्यवहारका तथा बलात्कार प्रयास १६, बालविवाह दुई ओटा, महिला बलात्कारका २८ ओटा, बलात्कार प्रयासका सात, बहुविवाह १८ ओटा, परिवारजनबाट हत्या दुई, कर्तव्य ज्यानमा चार, जातीय छुवाछुत दुई ओटा, प्रतिबन्धित विप्लव पाँच ओटा, अभिव्यक्ति स्वतन्त्रता एक लगायतका १ सय ३८ ओटा घटना भएको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।
सरकारी वकिलको कार्यालयकी काठमाडौँकी प्रतिनिधि गायत्री वाग्लेले महिला, बालबालिकाहरू बढी पीडित हुने गरेको र समाजमा घटना मिलाउन र दबाउन अगुवाहरू लागि पर्ने गरेको आरोप लगाउनु भयो । उहाँका अनुसार घटनाहरु होस्टाइल हुने सख्या बढ्दो रहेको र पीडितलाई न्याय दिन सरकारले भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । यस्तै राष्ट्रिय महिला आयोगकी कानुन अधिकृत उर्मिला रोकाका अनुसार आयोगले हटलाईको सुरुवात गर्नाले महिला तथा बालबालिकाका मुद्दाहरु खुलेर आउन थालेको बताउनुभयो । महानगरीय प्रहरी वृत कालिमाटीकी इन्सपेक्टर अनु लामाले पछिल्लो समय घटनाको स्वरुप पनि परिर्वतन भएकाले घटनाहरु अझ जटिल रहेको बताउनुभयो । लैङ्गिक हिंसा नियन्त्रण सञ्जालकी कोषाध्यक्ष रसना ढकालले इन्सेकले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तकले सबैलाई एकिन तथ्याङ उपलब्ध गराएर सहयोग गरेको भन्दै धन्यवाद दिनुभयो । इन्सेकले घटनाहरूको तथ्याङ्क मात्र प्रकाशन नगरेर घटनाको कारण, अवस्था र विश्लेषण तर्फ ध्यानु पर्ने भन्दै सुझाव पनि उहाँले दिनुभयो ।
विमला पौडेल
HUMAN RIGHTS NEWS PORTAL






