नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

स्याङ्जा । २०७८ साउन २ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ३१ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक ) स्याङ्जाको आयोजनामा गरिएको कार्यक्रममा इन्सेक स्याङ्जा प्रतिनिधि तिल कुमारी थापाले इन्सेकले जिल्लामा सन २०२१ को जनवरी देखि जुनसम्म अभिलेख गरेको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरुको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिकी प्रमुख सीता सुन्दासले वर्ष पुस्तक अत्यन्तै प्रभावकारी बन्दै गएको र समाजमा हुने मानव अधिकार हननका घटनाहरुको अवस्था बारे जान्न महत्वपूर्ण माध्यम रहेको बताउनुभयो । पुतलीबजार नगरपालिकाकी मेयर सिमाकुमारी क्षेत्रीले इन्सेकले वर्षौदेखि प्रकाशन गर्दै आएको वर्ष पुस्तक मानव अधिकारका क्षेत्रमा काम गर्ने राज्यका निकायलाई मार्गदर्शनको रुपमा काम गरेको बताउनुभयो । पुस्तकमा भएका सूचना न्यायिक क्षेत्रमा महत्वपूर्ण आधार बन्दै गएको उहाँले बताउनुभयो ।

 
??

जिल्ला प्रशासन प्रमुख दिपकराज नेपालले वर्ष पुस्तक अत्यन्तै सान्दर्भिक रहेको र इन्सेकले यसको माध्यमबाट नागरिकलाई मानव अधिकारप्रति जिम्मेवार बनाउनुका साथै सरकारलाई जवाफदेहि बनाएको बताउनुभयो । कार्यक्रममा नेपाल नागरिक समाज स्याङ्जाका अध्यक्ष ओम प्रकाश शर्माले इन्सेकले मानव अधिकारको क्षेत्रमा गरेको कार्य निकै सराहनीय रहेको र वर्ष पुस्तकले समाजको वास्तविक चित्रण गर्ने भएकोले कुन क्षेत्रलाई सुधार्न ध्यान पुर्याउन आवश्यक रहेको बारे जानकारी पाइने बताउनुभयाे । इन्सेकद्वारा पुतलीबजार नगरपालिकामा गठन गरिएको मानव अधिकार समूहका संयोजक तारकबहादुर थापाले वर्ष पुस्तकका लागि  अभिलेख गरिएका घटनाहरूकाे समिक्षा गर्नु राम्रो कार्य रहेको बताउदै यसले पुस्तकलाई थप विश्वासिलाे बनाउने बताउनुभयो । इन्सेकको अभिलेख अनुसार ६ महिनामा मानव अधिकार हनन तथा ज्यादतीका १८ ओटा घटना जिल्लामा भएका छन् । जसमध्ये महिला अधिकारको आठ ओटा, बाल अधिकारको आठ ओटा, हत्याको एक ओटा र सम्पत्ति क्षतिको एक ओटा घटना रहेका छन् ।

तिलकुमारी थापा