नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि वार्षिक पूर्व समीक्षा सम्पन्न
भोजपुर । २०७८ मङ्सिर २३ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) भोजपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि समीक्षा गरिएको छ । मङ्सिर २३ गते आयोजित कार्यक्रममा इन्सेक भोजपुर प्रतिनिधि गणेश विष्टले ०७७ पुस १७ गतेदेखि ०७८ मङ्सिर २२ गते सम्म अभिलेखीकरण गरेका घटनामाथि सरोकारवालाहरूबिच समीक्षा गरिएको छ ।
भोजपुरमा ११ महिनाको अवधिमा मानव अधिकार उल्लङघन तथा ज्यादतीका ८३ ओटा घटना अभिलेख गरिएको छ । जसमध्ये हत्याका दुई, घरेलु हिंसाका ५३, महिला तथा बालिका बलात्कारका १२, बलात्कार प्रयासका तीन, बहुविवाहका दुई र कुटपिटका ११ ओटा घटना छन् । समीक्षा कार्यक्रममा जिल्ला समन्वय समिति सभापति लक्ष्मण खड्काले जिल्लामा पछिल्लो समय महिला र बालबालिका हिंसामा बढी परेको बताउनु भयो । उहाँले वैदेशिक रोजगार तथा सामाजिक सञ्जालका कारण हिंसाका घटना बढेकाले त्यसको नियन्त्रणमा सबै एकजुट हुने पर्नेमा जोड दिनु भयो ।
जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रशासकीय अधिकृत रामप्रसाद दाहालले सबैले आफ्नो जिम्मेवारी पुरा गरेको खण्डमा मात्र मानव अधिकारको रक्षा हुने बताउनु भयो । इन्सेकले जिल्लामा हुने मानव अधिकारसँग जोडिएका घटनाहरूलाई अभिलेखीकरण गरी राज्यलाई मानव अधिकार रक्षाका लागि दबाब सिर्जना गरेको अधिकारकर्मी दीपा शर्माले बताउनु भयो । समीक्षा कार्यक्रममा पत्रकार,मानव अधिकारकर्मीलगायतको सहभागिता रहेको थियो ।
गणेश विष्ट