नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

सुनसरी । २०७८ मङ्सिर २३ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुनसरीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २३ गते सम्पन्न भएको छ । मानव अधिकारसँग जोडिएका विषयमा इन्सेक सुनसरी प्रतिनिधिले सन् २०२१ को जनवरीदेखि नोभेम्वरसम्म जिल्लामा अभिलेखीकरण गरिएका घटनामाथि सरोकारावालाबिच समीक्षा गरिएको छ । ०७७ पुस १७ गतेदेखि मङ्सिर सम्मको ११ महिनाको अवधिमा जिल्लामा हत्याका दुई ओटा, बलात्कारका ८० ओटा, बलात्कार प्रयासका २६ ओटा, बहुविवाहका ३५ ओटा, कथित बोक्सी आरोपको एक ओटा, एसिड आक्रमणको एक ओटा, मानवबेचविखन प्रयासका पाँच ओटा, बाल यौन दुर्व्यवहारका १४ ओटा र धम्कीका चार ओटा घटना जिल्लामा अभिलेखीकरण गरिएको इन्सेक सुनसरीले जनाएको छ ।

समीक्षा कार्यक्रममा इनरूवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेलले मदर्शामा महिला तथा छोरीलाई शिक्षा अझै राम्रोसँग दिन नसकेको र बन्धनमा बसेको जस्तो गुनासो आएकाले त्यस प्रकारका घटनालाई नेपाल मानव अधिकार वर्ष पुस्तकले ध्यान दिनुपर्ने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्रकुमार कार्कीले नेपाल प्रहरी अपराध न्यूनीकरण गर्न र दोषीलाई कारबाही तथा पीडितलाई न्याय दिलाउनका लागि प्रतिवद्ध भएको बताउनु भयो । उहाँले नेपाल मानव अधिकार वर्ष पुस्तक दस्तावेज भएका कारण कतिपय अवस्थामा पीडितले वर्ष पुस्तकमा अभिलेखीकरण गरिएका घटनाबाट पीडितले न्याय पाएको बताउनु भयो ।

नागरिक समाजका पुरूषोत्म घिमिरेले नेपाल मानव अधिकार वर्ष पुस्तकले देशको मानव अधिकार अवस्था चित्रण गर्ने र त्यसमा सुनसरीको पनि रिर्पोट राम्रो जानुपर्ने बताउनु भयो । उहाँले करागार र प्रहरी हिरासतको घटनालाई समेत प्राथमिकताका साथ राख्न सुझाव दिनुभयो । पत्रकार राजेन्द्र पोखरेलले नेपाल मानव अधिकार वर्ष पुस्तकमा बढी अपराधको घटनाहरू आउने गरेकाले अन्य सवाललाई प्राथमिकतामा राख्न आवश्यक रहेको बताउनु भयो । अधिकारकर्मी शोभा मेहताले शिक्षामा सबैको पहुँच आवश्यक भएकोले शिक्षाका सवाललाई वर्ष पुस्तकले महत्व दिनु पर्ने बताउनु भयो । समीक्षा कार्यक्रममा अधिकारकर्मीसहित विभिन्न सरोकारवालाहरूको उपस्थिती रहेको थियो ।

जयकृष्ण यादव