नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
झापा । २०७८ मङ्सिर २४ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्ला अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच मङ्सिर २४ गते समीक्षा गरिएको छ । विश्व मानव अधिकार दिवस (१० डिसेम्बर) को अवसरमा मानव अधिकार सञ्जाल झापा तथा इन्सेक झापाको संयुक्त आयोजनामा ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२’ प्रकाशन पूर्व वार्षिक समीक्षा’कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा इन्सेक झापा प्रतिनिधि नरेश खातीले जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना प्रस्तुत गरेका थिए । जिल्लामा सन् २०२१ को जनवरीदेखि नोवेम्वरसम्मको अवधिमा मानव अधिकार उल्लङ्घनका घटनाहरूको आधारमा समीक्षा गरिएको छ । जसमा हत्याका २ ओटा घटना, महिला अधिकारसँग सम्बन्धित ८२ ओटा, बाल अधिकारका ८३ ओटा गरी जम्मा १ सय ६७ ओटा सार्वजनिक गरिएको छ ।
समीक्षामा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले नेपालमा मानव अधिकारको सम्वद्र्धन र संरक्षणका निमित्त इन्सेकको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । उहाँले विगतका वर्ष पुस्तक तथा प्रतिवेदनले मानव अधिकार रक्षामा महत्वपूर्ण भूमिका खेलेको स्मरण गराउनु भयो । प्रमुख जिल्ला अधिकारी तिम्सिनाले समीक्षा प्रतिवेदनतर्फ इङ्गित गर्दै मानव वेचविखनविरूद्धमा काम गर्ने संघसंस्था र प्रशासनको सकारात्मक प्रयासलाई प्रतिवेदन राखिदिन आग्रह गर्नु भयो । उहाँले झापामा क्षमता भन्दा बढी कैदी भएकोले कारागारको समस्या देशव्यापी समस्या भएका बताउनु भयो ।
मानव अधिकार सञ्जाल झापाका अध्यक्ष विष्णु खरेलले झापामा मानव अधिकार उल्लङ्घनका घटनामा कमी आएको बताउनु भयो । उहाँले इन्सेकले लामो समयदेखि निडरतापूर्वक हिंसाका घटना अभिलेखीकरण गरेर महत्वपूर्ण कार्य गरेको बताउनु भयो ।
नारी सञ्चारगृहकी संस्थापक अध्यक्ष सावित्रा दाहालले मानव अधिकार रक्षाका लागि सरोकारवाला कुन‒कुन क्षेत्रसँग काम गर्ने निश्चित गर्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा अधिकारकर्मी,पेशाकर्मी र पत्रकारहरूको सहभागिता रहेको थियो ।
नरेश खाती