नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
ओखलढुङ्गा । २०७८ मङ्सिर २६ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २४ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ओखलढुङ्गाको आयोजनामा गरिएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार मण्डलले मानव अधिकार सुनिश्चितताको लागि सरोकारवाला निकायबिच समन्वय आवश्यक रहेको बताउनु भयो । इन्सेकका अनुसार पछिल्लो समय जिल्लामा मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि भएको तथ्याङ्क सार्वजनिक भएको भन्दै यसको न्यूनीकरणको लागि सरकारी निकाय, गैरसरकारी सङ्घसंस्था र सरोकारवालाबिच समन्वय आवश्यक भएको सहायक प्रमुख जिल्ला अधिकारी मण्डलले बताउनु भयो । उहाँले इन्सेक लगायतका मानव अधिकारसँग सम्बन्धित निकायले प्रतिवेदन पेश गर्नुका साथै आम नागरिकले अधिकार पाए की पाएनन् बारे अनुगमन गर्नु पर्ने बताउनु भयो ।
जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्लेले यौनजन्य हिंसाका घटनाका पीडित न्यायको पहुँचमा धेरै ढिला आउने गरेको भन्दै पीडितलाई घटना भए लगत्तै न्यायिक निकायसम्म ल्याउन सबैले भूमिका खेल्नुपर्ने बताउनु भयो । उहाँले इन्सेकले जिल्लामा मानव अधिकारको क्षेत्रमा खेलको भूमिका निकै महत्वपूर्ण भएको बताउँदै पीडितको उजुरी समयमै ल्याउन र उनीहरूलाई न्यायको पहुँचमा ल्याउने पहल गर्न इन्सेकलाई आग्रह गर्नु भयो । जिल्ला अदालतका तहसिलदार डिल्लीप्रसाद आचार्यले हिंसाका घटनामा कमि ल्याउन जनचेतनामूक कार्यक्रममा जोड दिनुपर्ने बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लङ्क श्रेष्ठले आफूहरूको कार्यालयमा पिडितको उजुरी ढिला आउने भएको कारण पनि प्रमाण नपुग्ने गरेको भन्दै यसतर्फ सबैको ध्यान जानुपर्ने बताउनु भयो । उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुङ्गा शाखा अधिकृत लक्ष्मी राईले ‘वर्ष पुस्तकले विषयमा समेट्ने क्षेत्र फराकिलो बनाउनु पर्ने बताउनु भयो । उहाँले आर्थिक, सामाजिक अधिकार र मौलिक हकका कुराहरूलार्ई विशेष प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनु भयो ।
मानव अधिकार हनन् हुन नदिन स्थानीय सरकारको पनि भूमिका महत्वपूर्ण हुने भन्दै स्थानीय सरकारलाई जिम्मेवार बनाउन नागरिक समाजले पैरवी गर्नुपर्ने इन्सेक पूर्व जिल्ला प्रतिनिधि तथा पत्रकार शिव ढुङ्गगानाले बताउनु भयो । इन्सेकले जिल्लामा मानव अधिकारको क्षेत्रमा सक्रिय रूपमा काम गरिरहेको भन्दै अझ स्थानीय तहमा अनुगमन गर्नुपर्ने पत्रकार ढुङ्गानाले जोड दिनुभयो । समीक्षमा सन् २०२१ जनवरी देखि नोभेम्बरसम्म ११ महिनाको अवधिमा इन्सेकले अभिलेखीकरण गरेका ५१ ओटा घटनामा ५१ जना पीडित भएका छन् । इन्सेकको अभिलेख अनुसार यस अबधिमा जिल्लामा ६ जना बालिका र सात जना महिला बलात्कारको घटनाबाट पीडित भएका छन् ।
सरस्वती बानिया