नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा
ताप्लेजुङ । २०७८ मङ्सिर २८ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङघन तथा ज्यादतीमाथि सरोकारवालाबिच मङ्सिर २८ गते समीक्षा गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ताप्लेजुङको आयोजनामा समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो । समीक्षामा इन्सेक प्रतिनिधि देवराज गुरुङले सन् २०२१ मा २३ ओटा मानव अधिकारसँग सम्बन्धित घटना अभिलेख भएको बताउनु भयो ।
इन्सेकले अभिलेख गरेका १० ओटा बलात्कार,दुई ओटा बलात्कार प्रयास, एक ओटा गर्भपतन, एक बाल यौन दुर्व्यवहार, एक शिक्षक हत्या,एक नवजात शिशु हत्या,एक अपहरण तथा शरीरबन्धक तथा बलात्कार,कर्मचारीमाथि अभद्र व्यवहार, एक मजदुर हत्या तथा दुई ओटा बाल विवाह गरी २३ ओटा घटना सार्वजनिक गरिएको छ । समीक्षामा बलात्कारपछि गर्भवती बनेकी १३ वर्षीया र १४ वर्षीया बालिका गरी तीन जना बालिकाको भविष्य अन्धकारझै बनेको भन्दै इन्सेकले सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले इन्सेकले मेहेनतका साथ मानव अधिकारको तथ्यांक संकलन गरेको भन्दै प्रशंसा गर्नुभयो । इन्सेकले नागरिकको अधिकारको विषयमा उठाएको सवालमा तत्काल मेघा प्राजेक्ट लागू भएका क्षेत्रमा बालबालिकालाई श्रममा लगाए वा नलगाएको विषयमा अनुगमन गर्ने पाण्डेले बताउनु भयो । समीक्षामा एकीकृत नेकपा माओवादीका प्रजिन हाङवाङले आठराई त्रिवेणी गाउाँलिका‒३ हाङपाङकी २० वर्षीय सित्तल लिम्बुको गर्भपतनको औषधि सेवनकै कारण ज्यान गएको भन्दै आरोपितलाई गिरफ्तार गरी कानुनी प्रक्रिया अगाडी बढाउन नसकेको भन्दै गुनासो गर्नुभयो ।
दोभानस्थित भेनियरमा एक जना महिलाको मृत्यु भएको विषयमा सबै चुपचाप बसेको भन्दै अरु चुप बसेपनि इन्सेक चुप बस्न नहुनेमा जोड दिनुभयो । भेनियरमा काम गर्दै आएकी हाङपाङकी महिलाको मृत्युको विषय र गर्भपतनको औषधि सेवन गरेर मृत्युवरण गर्न बाध्य तुल्याएको आरोपितलाई गिरफ्तार गरी कारवाही गर्ने प्रहरी इन्स्पेक्टर कैलाश कुमार अधिकारीले प्रतिबद्धता जनाउनुभयो । सहायक जिल्ला न्यायधिवक्ता पुष्पराज बास्तोलाले इन्सेकले अभिलेख गरेको घटनामा अदालतको फैसला अपडेट गर्न सुझाव दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले इन्सेकको किताब मोटो नभई पातलो हुनु भनेको मानव अधिकारको घटनामा कमि हुनु हो । मादेनले,“किताब मोटो हुनु भनेको मानव अधिकारका घटनामा वृद्धि हुनु हो । त्यही भएर मानव अधिकार उल्घंनका घटना हुन नदिन सबै एकढिक्का हुनुपर्छ ।”भन्नु भयो । मानव अधिकारको विषयमा वकालत गर्नु त्यति सहज नभएतापनि नागरिकको मानव अधिकार संरक्षण गर्नु राज्यको नै मुख्य दायित्व भएको सहभागीले जोड दिएका छन् ।
देवराज गुरुङ