नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

बाँके । २०७८ पुस ५ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा कार्यक्रम विभिन्न जिल्लामा सम्पन्न भएको छ ।

रुपन्देही जिल्ला प्रतिनिधि रीमा बिसीका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रुपन्देहीको अयोजनामा पुस ४ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलित घटनाहरूको समीक्षा सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले नेपालको मानव अधिकारको अवस्थाको विश्लेषण गरेर देशको समग्र मानव अधिकारको अवस्थाको बुझ्नका लागि नेपाल मानव अधिकार वर्ष पुस्तक सहयोगी भएको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी तिवारीले महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दा सम्वेदनशील हुनु पर्ने बताउदै  बैदेशिक रोजगारीमा जाँदा ठगिने अवस्थालाई कसरी रोक्न सकिन्छ भन्ने विषयमा जिल्ला प्रशासन कार्यालय गम्भीर रहेको बताउनु भयो । राष्टिय मानव अधिकार आयोग बुटवलका प्रमुख सन्तोष आचार्यले मानव अधिकार र अपराधको विषयलाई पृथक बनाउन सुझाव दिनुभयो ।  इन्सेक जिल्ला प्रतिनिधि रीमा बिसीले जिल्लामा सन् २०२२ का लागि सङ्कलित ५ सय ७६ ओटा घटनाहरू रहेको तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो ।   जसमध्ये बाल अधिकार अन्तरगत बलात्कारका ४६, यौन दुर्व्यवहारका १६ गरी ६२ जना , महिला अधिकार अन्तरगत बलात्कार २० र बलात्कार प्रयास नौ जना, मानव बेचविखन तथा ओसार पसारका सात, नागरिक तथा राजनीतिक अधिकारका तीन,  हत्या सात,  अपहरण तथा शरिर बन्धक दुई, बहु विवाह आठ, गर्भपतन एक र घरेलु हिंसाका ४ सय ५७ गरी ५ सय ७६ जना पीडित भएको तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (एमाले) का नगर अध्यक्ष किशन ज्ञवालीले इन्सेकले गरेको काम मान्छेको जीवनसँग जोडिएको भएकोले इन्सेकलाई यो उचाई सधै कायम गर्नका लागि आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका पुष्पराज ढकालले मोतिपुर घटनाका विषयमा पृष्ठभूमिको पाटोलाई अझ बढी ध्यान दिनुपर्ने बताउनु भयो । इलाका प्रहरी कार्यालयका डिएसपी ठगबहादुर कार्कीले नेपाल प्रहरी मानव अधिकारको हिसावले धेरै अगाडि आएकोले सो विषयमा प्रहरी निकै सम्वेदनशील रहेको बताउदै समाजमा नैतिक शिक्षाको अभावका  कारणले यौनजन्य हिंसा बढेको बताउनु भयो । कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुद्र जिसीले कोभिडको समयमा नागरिकको बाच्न पाउने अधिकार पनि खोसिएको र अस्पतालको लापरबाहीको कारण मृत्यु भएका परिवारको संरक्षणका विषयमा पनि इन्सेकले अभिलेख राख्नुपर्ने बताउनु भयो ।

पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार इन्सेक पाल्पाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस २ गते तानसेनमा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले सन् २०२१ को जनवरीदेखि हालसम्म जिल्लामा भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू प्रस्तुत गर्नु भएको थियो । यस  अवधिमा बलात्कारका १४, यौन दुर्व्यवहारका एक, हत्या दुई वटा र घरेलु हिंसाका ५० गरि ७० जना पीडित भएको तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो ।  प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जिल्लाका मानव अधिकार सम्बद्ध बिषयहरूलाई जिल्ला प्रशासन र प्रमुख जिल्ला अधिकारीको रुपमा आफूले सम्बोधन गर्ने बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोषकुमार भट्टराईले समुदायमा शान्ति सुरक्षाका लागि प्रहरी र समुदायको उत्तिकै भुमिका रहने बताउनु भयो ।

दाङ जिल्ला प्रतिनिधि जयनारायण पुनका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को अयोजनामा  नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस २ गते घोराहीमा सम्पन्न भएको छ । दाङ जिल्ला प्रतिनिधि जयनारायण पुनले एक वर्षको अवधिमा बलात्कारका ६९, बलात्कार प्रयास २५ र यौन दुव्र्यवहारका तीन, घरेलु हिंसाका ९० वटा, गैरकानुनी हिरासतका पाँच, हत्याका सात,  हिरासतमा मृत्यु एक, आत्महत्या दुरुत्साहन एक, बन्द÷हडताल चार, दुर्व्यवहार ६, धम्कीका दुई , विद्यालयतमा दिइने सजाय दुई, खाद्य अधिकारको एक, सम्पत्ति आगजनी एक, बालविवाह एक , बहुविवाह एक, कथित बोक्सी आरोप एक र मानव बेचविखन एक गरी २ सय २१ जना पीडित भएको तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो ।

इन्सेक, लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज