नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्व समीक्ष सम्पन्न
नुवाकोट । २०७८ पुस ९ गते
जिल्ला सरकारी वकिलको कार्यालयमा प्रमुख जिल्ला न्यायाधिवक्ता टेकराज भुषालले मानव अधिकारको संरक्षण र सम्बर्धनको लागि सरोकारवाला निकायहरूको भूमिका प्रभावकारी हुनु पर्ने बताउनु भएको छ । इन्सेक नुवाकोटले पुस ९ गते विदुरमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ मा समेटिने घटनाहरूको वार्षिक पूर्व समीक्षा कार्यक्रममा जिल्ला न्यायाधिवक्ता भुषालले उक्त भनाई राख्नु भएको हो । सरकारी वकिलको कार्यालयले समुदायमा सरकारी वकिल कार्यक्रममार्फत स्थानीयस्तरमा कानुनी सचेतना गराउन थालिएको जानकारी दिदैँ न्यायाधिवक्ता भुषालले पीडितलाई न्याय पाएको अनुभूत गराउने काम प्राथमिकतामा रहेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयमा इन्स्पेक्टर जनार्दन घिमिरेले पीडित र पीडक दुवैलाई कानुनले दिएको अधिकारलाई संरक्षण गर्नु पर्ने दायित्व प्रहरीमा रहेको बताउनुभयो । उहाँले प्रहरी मानव अधिकारप्रति प्रहरी र सरकार संवेदशील रहेकोले अधिकार उलङ्घन हुन लागेमा सरोकारवालाहरूले खबरदारी गर्न समेत आग्रह गर्नुभयो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालयमा प्रशासकीय अधिकृत दयाराम पौडेलले मानव अधिकार, उपभोक्ताको अधिकार लगायतका विभिन्न विषयमा कार्यालयले प्रभावकारी भूमिका खेलिरहेको र अझै प्रभावकारी बनाउन सुझावको अपेक्षा राखिएको बताउनुभयो ।
जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष राजाराम थपलियाले कानुनी जागरण, महिला अधिकार, बाल अधिकार लगायतका सवालहरूलाई बारले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले मानव अधिकारको संरक्षणको लागि सरोकारवाला निकायहरूबीच समन्वय हुनु पर्नेमा समेत जोड दिनुभयो । इन्सेक जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठले सन् २०२१ भित्रमा नुवाकोटमा भएका मानव अधिकार उलङघनका तथा ज्यादतीका घटनाहरूको बारेमा जानकारी दिनुभएको थियो । जिल्लामा बलात्कारका १७ ओटा, बलात्कार प्रयासमा ६ ओटा, यौन दुव्र्यवहारका चार ओटा, बहुविवाहका तीन ओटा, हत्याका पाँच ओटा र बालबिझ्याईका एक ओटा घटना इन्सेकले अभिलेख गरेको श्रेष्ठले कार्यक्रममा जानकारी गराउनु भएको थियो ।
नवदीप श्रेष्ठ