न्याय सवलीकरणका लागि सरोकारवालाहरुको सहयोग आवश्यक

दैलेख । २०७८ माघ २० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को ‘अधिकार–२ परियोजना’का कार्यक्रम संयोजक किरण पौडेलले मानव अधिकार रक्षकहरूको सुरक्षा र क्षमता विकास गर्न सके मात्र पीडितहरूले न्याय पाउन सहज हुने बताउनु भएको छ । माघ १९ गते दैलेखमा परियोजना बारे जानकारी गराउन सरोकारवालासंगको छलफल कार्यक्रममा उहाँले न्यायमा सवलीकरण गर्न समुदाय र सरोकारवाला सबैको सहयोगको आवश्यकता दर्शाउनुभयो । कार्यक्रममा ‘अधिकार–२ परियोजना’का कार्यक्रम अधिकृत परिष्कृत पौडेलले मानव अधिकार रक्षक सञ्जालले गठन गर्ने सिफारिस संयन्त्र (रिफरल मेकानिजम)ले पीडितको न्यायका निम्ति काम गरिरहेका संघसंस्था र सरोकारवाला निकायबीच समन्वय थप प्रभावकारी हुने बताउनुभयो । त्यसअघि माघ १९ गते नै नारायण नगरपालिकामा इन्सेकको इएलपी परियोजनाको प्रभावकारिता विषयमा तेश्रो पक्ष अनुगमन समूहले नगरपालिकाका जनप्रतिनिधि, मानव अधिकार समूह, बाल अधिकार चेतना समूह र लाभग्राहीहरूसँग छुट्टाछुट्टै भेटेर जानकारी लिएको थियो । इएलपी परियोजनाले वकालत गर्ने शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा र आवास अधिकार सवालमा विषयमा समुदायमा गरेको कामको प्रभावकारिता अनुगमन तथा मूल्याङ्कन गर्न सामाजिक विकास मन्त्रालयका अधिकृत यशोदा शर्मा, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका सचिव अशोक राजी र गैसस महासंघका केन्द्रीय सदस्य घनश्याम केसी हुनुहुन्थ्यो ।

अनुगमन तथा मूल्याङ्कन टोलीमा ‘समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने इएलपी परियोजना’का कर्णाली प्रदेश फोकल पर्सन दुर्गा थापा, ‘अधिकार–२ परियोजना’का कार्यक्रम संयोजक किरण पौडेल र कार्यक्रम अधिकृत परिष्कृत पौडेल पनि सहभागी हुनुहुन्थ्यो । परियोजनाको प्रभावकारिता अनुगमन तथा मूल्याङ्कन टोलीलाई सरोकारवाला निकायसँग भेटघाट र फिल्ड क्षेत्रमा भएका कामबारे इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार र इएलपी परियोजना जिल्ला सहजकर्ता सीता बुढाले सहजीकरण गर्नुभएको थियो । त्यसैगरी इन्सेकको पहलमा गठन भएको मानव अधिकार रक्षक सञ्जालको माघ १९ गते नै बसेको बैठकमा ‘अधिकार–२’ परियोजना र सञ्जालबीचको अन्तरसम्वन्ध, यसअघि गरेको काम र भावी कार्यक्रमबारे समीक्षा भयो । बैठकको अध्यक्ष सञ्जालका जिल्ला संयोजक बिशाल सुनारले गर्नुभएको थियो । इन्सेकले ‘अधिकार–२’ परियोजना कर्णाली प्रदेशका १० ओटै जिल्लामा लागू गरे पनि दैलेखको दुल्लू नगरपालिका, आठबीस नगरपालिका र सुर्खेतको बीरेन्द्रनगर नगरपालिकामा मानव अधिकार प्रवद्र्धनका कार्यक्रमहरू हुनेछन् ।

अमर सुनार