पहुँचयुक्त निर्वाचन प्रणाली बिषयक नीतिगत संवाद कार्यक्रम सम्पन्न
कास्की । २०७९ वैशाख १६ गते
अपाङ्गता स्वाबलम्बन विकास सङ्घ र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पोखरामा वैशाख १६ गते अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार सुनिश्चित गर्न र पहुँचयुक्त निर्वाचन प्रणालीको बिकासका निम्ति सम्बन्धित सरोकारवालाहरू बिच नीतिगत संवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी निर्वाचन कार्यलयका प्रमुख हुमनाथ पराजुलीले अपाङ्गता भएका व्यक्तिहरूको मतदान गर्ने अधिकारलाई सुनिश्चित गर्ने गरी निर्वाचन र मतदान केन्द्रको तयारी गरिएको बताउनुभयो । मतदान केन्द्र सार्वजनिक ठाँउमा राखिएकाले निर्वाचनको दिन अपाङ्गता भएका व्यक्तिहरूलाई मतदान स्थलसम्म पुग्न, सहजताका लागि सवारी पासको व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो । निर्वाचन आयोगले चाहेर मात्रै इलेक्ट्रोनिक भोटिङग मेसिनको व्यवस्थापन हुन नसक्ने भन्दै उहाँले राजनीतिक दलको सहमती आवश्यक रहेको भनाई राख्नुभयो । अपाङ्गता भएका व्यक्तिलाई मतदानका क्रममा लाइन बस्न नपर्ने गरी व्यवस्थापन गरिएको बताउनुभयो ।
पोखराको मेयर पदका उम्मेदवार धनराज आचार्यले आफूहरू अपाङ्गतामैत्री निर्वाचनको पक्षमा रहेको बताउनुभयो । उहाँले आफ्नो जित भएमा महानगरका सवै संर अपाङ्गमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । अपाङ्गता भएका व्यक्तिका सवालमा पहिलेको तुलनामा सुधार भएपनि अपेक्षाकृत रूपमा हुन नसकेको उहाँको भनाइ थियो । नेकपा एमालेका नेता तेजनारायण अधिकारीले एमालेले सम्पूर्ण अपाङ्गताको हक हितका लागि योजनाहरू लिएर निर्वाचनमा होमिएको दावी गर्नुभयो । नेपाली कांग्रेस सहसचिव नवीन सिग्देलले तुलनात्मक रूपमा सुधार भएपनि पर्याप्त रूपमा निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता हुन नसकेको भनाइ राख्नुभयो । राप्रपा नेपाल गण्डकी संयोजक सुर्य बास्तोलाले अपाङ्गता भएका व्यक्तिका लागि राज्यले दिने सुबिधा पर्याप्त नभएको भन्दै त्यसलाई परिमार्जन गर्नुपर्ने भनाइ राख्नुभयो । राष्ट्रिय मानव अधिकार आयोग गण्डकी अधिकृत मोहन काफ्लेले भौगोलिक अवस्थाका कारण अपाङ्गता भएका व्यक्तिहरूको निर्वाचन प्रक्रियामा सहभागिता न्यून हुने गरेको भन्दै त्यसतर्फ राज्यको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।
महिला मानव अधिकार रक्षक सञ्जाल अध्यक्ष इन्द्र कुमारी शर्माले अपाङ्गता भएका व्यक्तिलाई मतदाताको रूपमा मात्रै नभइ निर्वाचन प्रक्रियामा सहभागीतालाई अर्थपूर्ण रूपमा हेरिनुपर्ने भनाई राख्नुभयो । इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले अपाङ्गता भएका व्यक्तिका लागि अघिल्ला निर्वाचनको अनुभवको आधारमा आगामी निर्वाचनमा अपाङ्गता भएका व्यक्ति मैत्री निर्वाचन बनाउन भुमिका खेल्ने बिश्वास व्यक्त गर्नुभयो । अपाङ्गता भएका व्यक्तिले सहज रूपमा मतदान प्रक्रियामा सहभागी हुने मात्रै नभइ राजनीतिक दलले अपाङ्गता भएका व्यक्तिको अर्थपुर्ण सहभागीमा जोड दिनुपर्ने उहाँको भनाइ थियो । राष्ट्रिय अपाङ्ग महासङ्घ गण्डकी अध्यक्ष अन्जना केसीले भोट हाल्ने मात्रै राजनीतिक अधिकार नभएको बताउनुभयो । उहाँले निर्वाचन आयोगले अपाङ्गता भएका व्यक्तिहरूको मताधिकारको गोपनियताका विषयमा ध्यान दिनुपर्ने भनाइ राख्नुभयो । गैरसरकारी संस्था महासङ्घ गण्डकी उपाध्यक्ष पदम पहारीले अपाङ्गता भएका व्यक्तिहरूलाई मतदान केन्द्रसम्म लैजाने र ल्याउन नागरिक संस्थाको तर्फबाट राजनीतिक दलहरूलाई आग्रह गरिएको बताउनुभयो ।
शिक्षाका लागि राष्ट्रिय अभियान गण्डकी अध्यक्ष इन्दिरा पौडेलले अपाङ्गताका सवाललाई कार्यान्वयन गर्न राजनीतिक दल मात्रै नभइ नागरिक संस्थाहरूको भुमिका पनि प्रभावकारी हुन आवश्यक रहेको बताउनुभयो । गैसस कास्की अध्यक्ष डा.बुद्धि बहादुर थापाले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि कार्यान्वयन अझै हुन नसकिरहेको भनाइ राख्नुभयो । उहाँले अपाङ्गमैत्री मतदाता शिक्षा, मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाउन निर्वाचन आयोगलाई आग्रह गर्नुभयो । कार्यक्रममा सहभागी पुष्पराज रिमालले मतदान केन्द्र अझै पनि अपाङ्गमैत्री बन्न नसकेको बताउनुभयो । दृष्टिबिहिनहरूले आफैले मत हाल्न सक्ने गरी प्रविधिको विकास गर्नुपर्ने बताउदै साङ्केतिक भाषा नहुँदा मतदान केन्द्रमा मतदान गर्ने बारेमा अन्यौलता हुने उहाँको भनाइ थियो । डिडा नेपालका सल्लाहकार हेम गुरूङले निर्वाचन र अपाङ्गता भएका व्यक्तिको अधिकार बारे कार्यपत्र प्रस्तुत गर्दै राज्यले अपाङ्गता भएका व्यक्तिहरूलाई उपेक्षा गर्नु दुर्भाग्यपूर्ण रहेको बताउनुभयो ।
सुशन घिमिरे