पाँचौ मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनकालागि इन्सेकको सहजीकरण
रुपन्देही । २०८० वैशाख ११ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रुपन्देही र जिल्ला समन्वय समितीको आयोजनामा वैशाख १० गते रोहिणी गाउँपालिकामा पाँचौ मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि सहजीकरण गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख उमाकान्त चपाईले मानव अधिकारको प्रत्याभूति हुन सकेमा स्थानीय तहहरू बलियो हुने भएकोले सबै स्थानीय तहमा मानव अधिकार संस्कृतिको विकासमा जोड दिनुपर्ने बताउनु भयो । मानव अधिकार राष्ट्रिय कार्ययोजना सरकारकै योजना भएकोले यसको विषयमा सबै स्थानीय तहले महत्वका साथ अगाडि बढाउनु पर्नेमा जोड दिनु भयो । प्रमुख चपाईले मानव अधिकार बीना समृद्ध नेपालको परिकल्पना गर्न नसकिने भन्दै लामो समयदेखि यही विषयमा काम गरेको इन्सेकले यो विषयलाई स्थानीय तहसम्म पुर्याउनका लागि जिल्ला समन्वय समितीसँग समन्वय गरेको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले मानव अधिकार कार्ययोजना तीनै वटै तहमा मानव अधिकार संस्कृतिको विकासकालागि महत्वपूर्ण रहेकोले सबै स्थानीय तहले यस विषयमा गम्भीर भएर अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो ।
स्थानीय तहमा मानव अधिकार संस्कृतिको विकास गरी मानव अधिकारको सम्मान, सङ्रक्षण र सम्बर्धनको माध्यमबाट समावेशी, मर्यादित र समतामूलक समाजको विकास गरी “समृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय आकाक्षा साकार पार्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमको सहजीकरण इन्सेक रुपन्देही प्रतिनिधि रीमा बिसीले गर्नु भएको थियो । कार्यक्रममा कार्ययोजनाको उद्देश्य, कार्ययोजनाको ढाँचा, कार्ययोजनामा समेटिएका विषयहरू, कार्ययोजना कार्यान्वयनमा सम्बद्ध निकायको भूमिका, कार्ययोजना समन्वय संयन्त्र, संंघिय, प्रादेशिक ,जिल्ला र स्थानीय समन्वय समितिको सङरचना, काम कर्तव्य र अधिकार लगायतका विषयमा सहजीकरण गरिएको थियो । कार्यक्रममा उपस्थित प्रमुख तथा प्रतिनिधिहरूले मानव अधिकार संस्कृतिको विकासका लागि आफूहरू सकारात्मक र सम्वेदनशिल रहेको बताएका थिए । कार्यक्रममा जिल्लाका १६ ओटै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय समितीका पदाधिकारीहरूको उपस्थिती रहेको थियो । इन्सेकले प्रधान मन्त्री कार्यालयसँगको समन्वयमा सरकारले प्रकाशन गरेको पाँचौ मानव अधिकार राष्ट्रिय कार्ययोजना सम्बन्धी पुस्तक पुर्याउने र कार्यान्वयनकालागि जिल्ला तथा स्थानीय तहमा सहजीकरण गर्दै आएको छ ।
रीमा बिसी