पुनर्गठित नगरस्तरीय बाल सञ्जालमा इन्सेक
धनुषा । २०८१ असार ४ गते
मिथिला नगरपालिकाको कार्यालयद्वारा ०८१ जेठ ३१ गते मिथिला नगरपालिकामा पुनर्गठन गरिएको नगरस्तरीय बाल सञ्जालको अध्यक्षमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का बाल अधिकार सचेतना समुहका अध्यक्ष आन्नद कुमार महतो चयन हुनु भएको छ ।
आन्नद कुमार महतो इन्सेक धनुषाद्वारा मिथिला नगरपालिका ढल्केवरस्थित महेन्द्र माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहका अध्यक्ष हुन् ।
पुनर्गठन कार्यक्रममा प्रमुख अतिथि मिथिला नगरपालिकाका उपप्रमुख सुनिता सिंह बुढाथोकी, विशिष्ट अतिथि महिला बालबालिका ज्येष्ठ नागरिक अपाङ्गता शाखाका प्रमुख तथा बाल कल्याणका मिलन श्रीवास्तव, अतिथि राष्ट्रिय बाल अधिकार परिषद, मधेस प्रदेशका सन्जिव महतो, मिथिला नगरपालिका वडा नं. ७ का अध्यक्ष राम बहादुर स्याङ्गदन पाल्नुभएको थियो ।
पुनर्गठन कार्यक्रम राष्ट्रिय बाल अधिकार परिषद, मधेस प्रदेशका सन्जिव महतोको नेतृत्वमा भएको थियो । सोही क्रममा मिथिला नगरपालिकाको ११ ओटै वडाबाट एक जना छात्र र एक जना छात्रा गरी २२ जनाको मूल सदस्य निर्माण भएको थियो जसमा निर्वाचन प्रक्रियाबाट अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष चयन गरिएको थियो । सचिव, सहसचिव, उपाध्यक्ष पदको लागि निर्विरोध चयन भए ।
पुनर्गठित बाल सञ्जालको अध्यक्षमा आनन्द कुमार महतो, सचिवमा प्रदिप कुमार महतो, कोषाध्यक्षमा अञ्जली कुमारी शाह निर्वाचन प्रणालीद्वारा चयन हुनु भयो ।
उक्त कार्यक्रममा मिथिला नगरपालिकाका उपप्रमुख सुनिता सिंह बुढाथोकीले यस नगरपालिकाले बालबालिकाहरूको हक अधिकारलाई सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनु भयो । “आर्थिक वर्ष २०८१/८२ को लागि बजेट विनियोजन गर्ने क्रममा बालबालिकाहरूलाई प्रत्यक्ष सहभागिता गराई आर्थिक वर्षको बजेट विनियोजन गर्ने” उपप्रमुख बुढाथोकीले भन्नु भयो । त्यसैगरी, नयाँ कार्यसमितिलाई शुभकामना दिनुहुँदै अपाङ्गता भएका बालबालिकाहरूलाई यस सञ्जालमा सहभागिता गराएकोमा खुसी ब्यक्त गर्नु भयो । बालबालिकाहरू भविष्यका कर्नाधार भएको हुनाले बालबालिकाको क्षेत्रमा कुनै पनि सहयोग गर्नु पर्दा आफू जहिले पनि अगाडि हुने उपप्रमुख बुढाथोकीले बताउनु भयो ।
त्यस्तै, मिथिला नगरपालिका वडा नं. ७ का अध्यक्ष राम बहादुर स्याङ्गदानले “बालबालिकाको लागि हामी सबै वडाका वडा अध्यक्षहरूले आर्थिक वर्ष ०८१/०८२ मा बजेट छुट्याई यस नगरपालिकालाई एउटा उदाहरणीय नगरपालिका बनाउनेछौं”– भन्नु भयो ।
“मिथिला नगरपालिकामा केही वर्ष अगाडि कुनै पनि क्लब नभएको अवस्था थियो । तर आफूले अहिले मिथिला नगरपालिकाको सबै वडाहरूमा क्लब गठन गर्नुको साथै यस पालिकालाई बालमैत्री पाकिला बनाउने छु”–यस कार्यक्रमका विशिष्ट अतिथि मिलन श्रीवास्तवले भन्नु भयो ।
सन्तोषकुमार यादव