प्रदेशस्तरीय बाल चेतना समुह सञ्जाल गठन

कैलाली । २०७९ पुस २६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सु्दूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा पुस २६ गते सुदूरपश्चिम प्रदेशस्तरीय बाल चेतना समुह सञ्जाल गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द, (इन्सेक) सु्दूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले नीतिगत रुपमा बाल अधिकार संरक्षण गर्नका लागि विद्यालयस्तरीय बाल अधिकार चेतना समुहलाई सूचना प्रवाह गर्नका लागि विद्यालयस्तरीय बाल अधिकार चेतना समुहबाट छनौट गरी प्रदेशस्तरीय सञ्जाल गठन गर्नु परेको बताउनु भयो । उहाँले भन्नु भयो—‘विद्यालयमा बाल अधिकार चेतना समुहले विद्यालयमा बाल अधिकारका चेतना फैलाउने तथा अरु विद्यार्थीहरुलाई राम्रो काम गर्न उत्प्रेरित गर्ने र प्रदेशस्तरीय सञ्जालले अरु प्रदेशका सञ्जालसँग जोडिएर काम गर्नु पर्छ । सिकेका कुरा अरु विद्यार्थीलाई सिकाउन सक्नु पर्छ ।’ कान्तिराज्यलक्ष्मी मावी तथा बाल अधिकार चेतना समुह संरक्षक शिक्षक प्रमोद कठरियाले इन्सेकले  विद्यालयसंग समन्वय बढाउनु पर्ने सुझाव दिनु भयो ।

   

जनजागृती पुष्पलाल स्मृती मावी तथा बाल अधिकार चेतना समुह संरक्षक शिक्षक खडककुमारी रेग्मीले बाल अधिकार चेतना समुहको गतिविधि अगाडी बढाउन समुहको कोष स्थापना गरिनु पर्ने बताउनु भयो । प्रदेशस्तरीय बाल चेतना समुह सञ्जालकी अध्यक्ष रितिका सेट्टीले विद्यार्थीहरुले पढाइसँगसंँगै अतिरिक्त क्रियाकलापमा पनि भाग लिनु पर्ने र विद्यालयको खाली ठाँउमा करेसाबारी निर्माण गर्न सकिने तथा सामाजिक क्षेत्रमा सरसफाई जस्ता कार्यक्रम गर्न सकिने बताउनु भयो । उक्त कार्यक्रममा नौ सदस्यीय प्रदेशस्तरीय बाल चेतना समुह सञ्जालको अध्यक्षमा रितिका सेट्टी, उपाध्यक्षमा विमल लामिछाने, सचिवमा राघवदेव तिरुवा, कोषाध्यक्षमा निशा सन्ज्याल, सहसचिवमा भावना राना, सदस्यमा मोनिका चौधरी, एलिजा चौधरी र सुरिश्मा चौधरी रहनु भएको छ ।

मैनामोती चौधरी