प्रदेशस्तरीय मानव अधिकार सञ्जालको बैठक सम्पन्न
कैलाली । २०८० जेठ २९ गते
सुदूरपश्चिम प्रदेशस्तरीय मानव अधिकार सञ्जालको बैठक जेठ २९ गते धनगढीमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले तीनै तहका सरकारले नीति तथा कार्यकम सार्वजनीकिकरण गरिरहेको अवस्थामा मानव अधिकार सञ्जालका पदाधिकारीहरुले सब्य र शिष्ट तरिकाले मानव अधिकार तथा वातावरण संरक्षणका सवाललाई नीति तथा कार्यक्रममा पार्न र बजेटका लागि खबरदारी गर्न आग्रह गर्नु भयो । उहाँले भन्नु भयो– ‘मानव अधिकारको सवालमा स्थानीय तहले सार्वजनिक गर्ने नीति तथा कार्यक्रमका लागि मानव अधिकार सञ्जालले स्थानीय सरकारलाई जवाफदेही बनाउनु सक्नु पर्छ ।’ मानव अधिकार सञ्जालका अध्यक्ष सावित्रा आचार्यले सबै स्थानीय तहबाट आएका समस्या मानव अधिकारका साँझा समस्या भएकाले एकल रुपमा भन्दा समूहिक रुपमा काम गरे सहज हुने बताउनु भयो । मानव अधिकार सञ्जालका उपाध्यक्ष गोविन्द सापकोटाले मानव अधिकार समुहलाई बेलौरी नगरपालिकामा दर्ता गरिएको र नीति तथा कार्यक्रममा वातावरणीय, शिक्षा, स्वास्थ्य लगायतका सवालहरुलाई समेट्न दवाव दिइएको र त्यसका लागि बजेट समेत माग गरिएको बताउनु भयो । उहाँले बेलौरी नगरपालिका–१० स्थित चिनी मिलबाट निस्कने फोहरको कारण जैविक विविधतामा र वरीपरीको वातावरण दुर्गन्धित भइ मानव स्वास्थ्यमा प्रतिकुल असर परिरहेकाले मानव अधिकार समूहद्वारा फोहर व्यवस्थापनका लागि नागरपालिका र उद्योगहरुको ध्यानाकर्षण गरिने बताउनु भयो ।
मानव अधिकार समुह सञ्जालका सदस्य मानबहदुर चौधरीले वातावरण संरक्षण र विद्यालयको अनुगमन गरी विद्यालयमा देखिएका समस्या समाधानका लागि स्थानीय तहको ध्यानाकर्षण गरेको बताउनु भयो । मानव अधिकार सञ्जालका सदस्य रुपेश खरेलले कक्षा पाँच मूनिका विद्यार्थीहरुका लागि आएको दिवा खाजा सुविधा शिक्षकहरुले लिने गरेको गुनासो आएपछि मानव अधिकार समूहले नगरपालिका शिक्षा शाखा प्रमुखलाई ध्यानाकर्षण पत्र दिएको बताउनु भयो । सुदूरपश्चिम प्रदेशस्तरीय मानव अधिकार सञ्जालका सदस्य सोमनाथ रानाले लालझाडी गाउँपालिकामा कार्यविधि नहुँदा तथा कानुन अभावमा मानव अधिकार समूह दर्ता गर्न समस्या भएकाले नीति तथा कार्यक्रमका लागि बजेट माग गर्न नसकिएको बताउनु भयो ।
मैनामोती चौधरी