प्रदेश कार्यालयद्वारा इएलपी कार्यक्रमको अनुगमन
रुपन्देही । २०७८ असोज ११ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयले सुध्द्धोधन गाउँपालिकामा सञ्चालित इएलपी कार्यक्रमको असोज ९ गते अनुगमन गरेको छ । अनगमनका क्रममा इन्सेक लुम्बिनी प्रदेश कार्यालयका प्रमुख भोला महतले इएलपी कार्यक्रम अन्तर्गत गठित मानव समूहले गरेका कामहरूका विषयमा जानकारी लिनुका साथै आगामी कार्य योजनाका विषयमा छलफल गर्नु भएको थियो । प्रमुख महतले इन्सेकले लामो समयदेखि मानव अधिकारको अनुगमन, अभिलेखिकरण र मानव अधिकार उल्लङ्घन गर्नेलाई कारबाहीको लागि पैरवी र खबरदारी गर्दै मानव अधिकार शिक्षाका विषयमासमेत काम गर्दै आएको बताउनु भयो । उहाँले पछिल्लो समयमा मानव अधिकार संस्कृतिको विकास गर्नका लागि राज्यका जिम्मेवार निकायहरूलाई जवाफदेही बनाउनका लागि विभिन्न जिल्लाका ७७ वटा स्थानीय तहमा कार्यक्रम सञ्चलान भइरहेको बताउनु भयो ।
मानव अधिकार समूहले महत्वपूर्ण काम गरेको भएपनि अभिलेखिकरण कमजोर भएकाले गरेका कामहरूलाई अभिलेखिकरण गर्न र इन्सेक अनलाइन र मानव अधिकार शिक्षा रेडियो कार्यक्रमसँग जोड्नका लागि जिल्ला सहजकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रममा मानव अधिकार निगरानी समूहले गरेका कामहरूका विषयमा समूहका उपाध्यक्ष कपिल अर्यालले रचनात्मक काम गर्दे आएको र निशुल्क किड्नी जाँच गर्नेे कार्यको सुरूवात भएको बताउनु भयो । समूहका अध्यक्ष जगत सापकोटाले गाउँपालिकामा शिक्षा र स्वास्थ्य अधिकारका विषयमा सवालहरूमा केन्द्रित रहेर कार्यक्रम सञ्चालन भइरहेको बताउनु भयो । उहाँले समूहले सबै विद्यालयमा प्राथमिक स्वास्थ्य उपचारको व्यवस्थापन गर्नको लागि पहल गरेको, कोभिडको विषयमा जागरण अभियान, माइकिङ्क पम्पलेट वितरण जस्ता कार्य व्यक्तिगतरुपमा खर्च गरेर गरेको बताउनु भयो ।
रीमा बिसी