नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

पर्सा । २०७७ पुस १० गते

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को लागि सङ्कलन गरी अभिलेख गरिएको घटनाहरुको पूर्व समीक्ष कार्यक्रम पुस ९ गते वीरगंजमा सम्पन्न गरिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले मानव अधिकारको उल्लङ्घनको विषयलाई इन्सेकले सार्वजनिक गरेर राज्यलाई जिम्मेवार र जबाफदेही बनाउने काममा महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । इन्सेक पर्साले वर्ष पुस्तक २०२१ का लागि अभिलेख गरेको मानव अधिकार उल्लङ्घनसम्बन्धी घटनाका विषयमा बीरगंजमा आयोजना गरेको प्रकाशन पूर्वको समीक्षा कार्यक्रममा उहाँले दण्डहीनता बढेको भन्दै चिन्ता समेत व्यक्त गर्नु भयो ।

कार्यक्रममा पर्साका निमित्त एसपी ओमप्रकाश खनालले नेपाल प्रहरी मानव अधिकारको संरक्षण र प्रवर्धनप्रति प्रतिबद्ध रहेको बताउनु भयो ।अहिले पनि मानव अधिकारको विषयमा प्रहरी संबेदनशिल रहेको बताउँदै मानव अधिकारप्रतिको सम्मान र समर्पण प्रहरीको करियरसँग पनि जोडिएको एसपी खनालले बताउनु भयो । उहाँले प्रहरीले पीडामा परेकाहरूको लागि काम गर्ने बताउँदै धेरै विषयमा काम गर्ने भएकोले कमजोरी हुनु सक्ने स्वीकार गर्दै सकारात्मक आलोचनाको अपेक्षा सदैव गरिने बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जाराले इन्सेकले मानव अधिकार वर्ष पुस्तक निकालेर सामाजिक न्याय र मानव अधिकारको पक्षमा राम्रो भूमिका निर्वाह गरेको बताउनु भयो । उहाँले पत्रकार आफैँ पनि पहिलो पङ्क्तिको मानव अधिकार रक्षक भएको बताउँदै पत्रकारहरुले आफ्नो भूमिका झनै प्रभावकारी बनाउनु पर्ने सुझाव दिनु भयो । नेपाल मानव अधिकार सङ्गठन पर्सा सचिव शिवनाथ यादवले मानव अधिकार उल्लङ्घनको विषयमा राज्य जिम्मेवार हुनु पर्ने बताउनु भयो । उहाँले मानव अधिकारको संरक्षण र प्रवर्धनमा राज्यको प्रथामिकता रहनु पर्ने बताउँदै न्यायमा आम मान्छेको पहुँच स्थापित हुनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा इन्सेक पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेले पर्सा जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । पर्सामा १८ वर्ष मुनिका बालिका बलात्कारका ३१, यौन दुर्व्यवहार आठ, १८ वर्ष भन्दा माथिका महिला बलात्कारका सात, बलात्कार प्रयासका तीन, हत्याका १२, कथित बोक्सी आरोप एक, राज्यबाट दुर्व्यवहारका चार, बेचबिखनको एक र बहुविवाहका एक घटना सङ्कलन गरिएको लामिछानेले बताउनु भयो । बलात्कारका घटनाहरु गाउँ घरमै मिलाउने प्रचलनका कारण कतिपय घटनाहरू गाउँघरमै मिल्ने गरेको उहाँले बताउनु भयो ।

इन्सेक प्रदेश २ कार्यालय, जनकपुर