बटेश्वरमा मानव अधिकार समूहद्वारा ध्यानाकर्षण; इन्सेकद्वारा अनुगमन

धनुषा । २०८० वैशाख १३ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाँउपालिकामा गठित मानव अधिकार समूह र इन्सेक मधेस प्रदेशका प्रतिनिधि सम्मिलित टोलीले वैशाख १२ गते गाउँपालिका अध्यक्ष रामअशिष महतोलाई ध्यानाकर्षण पत्र बुझाएको छ । मानव अधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागी स्थानिय समन्वय समिति गठन गरी शिक्षा, स्वास्थ्य, वातावरण र विभेदविरुद्धका हकहरूको संरक्षण गर्न माग गर्दै गाउँपालिका अध्यक्ष महतोलाई ध्यानाकर्षण पत्र बुझाएको हो । बटेश्वर गाउँपालिका–४ स्थित शिवशक्ति माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन नभएको र करारमा कार्यरत शिक्षक शिक्षिकाहरूलाई ६ महिनादेखि पारिश्रमिक नदिएको गुनासो आएपछि टोलीले शिव शक्ति माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गर्न र शिक्षकहरुको पारिश्रमिक उपलब्ध गराई विद्यालयमा नियमित पठनपाठनको वातावरण मिलाउनसमेत गाउँपालिका अध्यक्षलाई पत्र मार्फत ध्यानाकर्षण गराएको मानव अधिकार समूहका अध्यक्ष सुरज महतोले बताउनु भयो । इन्सेक र मानव अधिकार समूहको टोलीसँगको छलफलमा बटेश्वर गाउँपालिका अध्यक्ष महतोले शिव शक्ति माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठनको प्रयास भइरहेको बताउँदै मानव अधिकारको पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयका लागि इन्सेकले स्थानीय तहमा समिति गठनका लागि सहजिकरण गरिदिनु हुन अनुरोध गर्नु भयो ।

   

शिवशक्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रमोदशरण केवटले विद्यालय व्यवस्थापन समितिको गठनका लागी आफू सकारात्मक रहेको बताउँदै आवश्यक सहयोग र समन्वयका लागी इन्सेकलाई अनुरोध गर्नु भयो । बटेश्वर गाउँपालिका–४ का वडा अध्यक्ष निरज कार्कीले यसअघि विद्यालय व्यवस्थापन समिति गठनका लागी पहल गरेपनि राजनीतिकीकरणका कारण गठन हुन नसकेको बताउनु भयो । उहाँले यथाशिघ्र बैठक आयोजना गरी समिति गठनमा पुनः पहल गर्ने र त्यसमा इन्सेकलाई समेत आमन्त्रण गर्ने बताउँनु भयो । शिवशक्ति माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहका अध्यक्ष उमा कुमारी महतोले विद्यालय व्यवस्थापन समिति गठनका लागि र करारमा कार्यरत शिक्षक शिक्षिकाहरूको पारिश्रमिक उपलब्ध गराई विद्यालयमा पठनपाठन सुचारु गराउनका लागि पहल गिरिदिन इन्सेक मधेस प्रदेशमा वैशाख ११ गते अनुरोध गरेकी थिइन् । इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान, कार्यक्रम फोकल पर्सन बरुण बस्याल, जिल्ला सहजकर्ता अनिता यादव, मानव अधिकार समूहका अध्यक्ष महतो र सदस्य हरिनारायण दासको संयुक्त टोलीले गाउँपालिका अध्यक्ष महतो, उपाध्यक्ष फुलो कुमारी सिंह, वडा अध्यक्ष कार्की, प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार शर्मा र शिव शक्ति माध्यमिक विद्यालयका शिक्षक केवट लगायतसँग छलफल गरेको छ ।

इन्सेक मधस प्रदेश कार्यालय