बलपूर्वक बेपत्ता पारिएकाहरूको बारेमा अन्तरक्रिया
मोरङ । २०७९ भदौ १२ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ कार्यालयको आयोजनामा भदौ १२ गते विराटनगरमा बलपूर्वक वेपत्ता पारिएका पीडितहरूको १२ औं अन्तराष्ट्रिय दिवसका अवसरमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेकलगायत विभिन्न सङ्घसंस्थाको आयोजनामा गरिएको कार्यक्रममा वेपत्ता परिवारका सदस्यहरूले आफूहरूले वेपत्ता भएका सदस्यहरूको अवस्था सार्वजनिक गर्न वर्षौंदेखि माग गर्दै आएपनि अझै सुनुवाइ नभएको गुनासो गरेका छन् । उनीहरूले राज्यले आफ्ना माग सुनुवाई मात्रै नगरेको नभई आफूहरूलाई सरकारी सेवा सुविधामा सहजीकरण र सम्मानसमेत नगरेको गुनासो गरेका छन् । परिवर्तनका लागि आफूहरू शहीद र वेपत्ता हुन तयार भए पनि देशमा परिवर्तन आइसकेपछि आफूहरूले परिवर्तनको अनुभुति गर्न नपाएको बेपत्ता परिवारको गुनासो छ । मोरङ कटहरी गाउँपालिका–४ का द्वन्द्व पीडित मनोज कामतले राज्यले कुनै पनि पहिचान, मानसम्मान र न्यायको प्रकृया टुङ्गो नलगाएको गुनासो गर्नु भयो । उहाँले ज्येष्ठ नागरिकलाई राज्यले सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेपनि द्वन्द्वपीडित परिवारलाई सामाजिक सुरक्षाको व्यवस्था गर्न नसकेको बताउनु भयो । वेपत्ता परिवारकी देवी मुखियाले स्थानीय सरकारले सबैलाई खोजी गर्ने तर, वेपत्ता परिवारलाई कहिलै खोजी नगरेको बताउनु भयो । उहाँले भन्नुभयो ‘गाउँपालिका-नगरपालिकाले सबैलाई बोलाउँछ । तर, वेपत्ता परिवारको सोधीखोजी कहिल्य गर्दैन ।’ वेपत्ता परिवारकी श्रीदेवी खवासले पति अर्जुन खवास र छोरो हरजित खवास ०६१ वैशाख २३ गतेदेखि वेपत्ता भएपनि अहिलेसम्म उनीहरूको अवस्था थाहा नभएको गुनासो गर्नुभयो । उहाँले पति र छोराको जानकारी दिनुपर्ने दायित्व राज्यको भएपनि सधै वेवास्ता गरेको बताउनु भयो । श्रीदेवीले दुई वटी छोरी पनि विहे गरेर घर गएपछि आफू एक्लै भएको तर, राज्यले वास्ता नगरेको बताउनु भयो ।
कार्यक्रममा वेपत्ता परिवार समाज नेपालका केन्द्रीय अध्यक्ष रूपेश शाहले सङ्क्रमणकालीन न्याय सम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयक संसदमा अझै टेवुल नभएको गुनासो गर्नुभयो । उहाँले जतिसक्दो चाँडो संसदमा विधेयक टेवुल गर्न माग गर्नुभयो । राष्ट्रिय मानवअधिकार आयोग विराटनगरकी प्रमुख नितु गड्तौलाले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन नजिकिंदै गएकाले वेपत्ता परिवारलाई न्यायका लागि नेताहरूलाई दबाब दिने अवसर आएको बताउनुभयो । उहाँले ‘निर्वाचनमा भोट माग्न आउने नेताहरूलाई आफ्ना माग बारे झ्कझक्याउने अवसर आएको छ ’ गड्तौलाले भन्नुभयो । प्रदेश १ की उपसभामुख सरस्वती पोखरेलले वेपत्ता परिवारले कि सास देउ की लास देउ भनिरेको अवस्थामा उनिहरूको माग पुरा गर्न सजिलो नभएको बताउनुभयो । उहाँले भन्नुभयो ‘वेपत्ता परिवारले वेपत्ता पारिएक व्यक्तिहरूको अवस्था सार्वजनिक गर्न दबाब दिइरहे पनि उहाँहरूको माग सम्बोधन गर्न त्यति सजिलो छैन ।’ यद्यपि सङ्घीय सरकार र प्रदेश सरकारले वेपत्ता तथा शहीद परिवाका माग सम्बोधनका लागि प्रयास गरीरहेको उपसभामुख पोखरेलको भनाइ छ । कार्यक्रमको अध्यक्षता अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका प्रदेश १ संयोजक सोमराज थापाले गर्नु भएको थियो । कार्यक्रममा द्घन्द्घ, वेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगका सहसचिव कृष्णप्रसाद पुडासैनीलगायतको उपस्थिती रहेको थियो ।
विनोद सुवेदी