बागमती प्रदेशस्तरीय कार्यक्रम समीक्षा बैठक सम्पन्न

मकवानपुर । २०७९ असार १० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा ०७९ असार १० गते प्रदेशस्तरीय कार्यक्रम समीक्षा बैठक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ स्थित मार्खुमा सम्पन्न भएको छ । इन्सेकको इएलपी परियोजना सञ्चालित प्रदेशका पाँच ओटा जिल्लाका सहजकर्ता र १३ जिल्लाका प्रतिनिधिसहित मार्खुमा असार ९ र १० गते आयोजित दुई दिने कार्यक्रम समीक्षा बैठक सुरु भएको हो । कार्यक्रमको भर्चुअल उद्घाटन गर्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इएलपी परियोजना सञ्चालित जिल्लामा भएका तीन वर्षको उपलब्धी, सहजकर्ताको अनुभव तथा कार्यक्रमको उपयोगीताबारे विस्तृत रूपमा समीक्षा गर्न आग्रह गर्नुभयो । यस्तै जिल्ला प्रतिनिधिहरूलाई जिल्लाको समग्र मानव अधिकारको स्थिती बारे छलफल सहित अनलाइन अपडेटको लागि पनि उहाँले निर्देशन दिनुभयो । भर्चुअल रुपमै मानव अधिकार पैरवी विभाग संयोजक सम्झा श्रेष्ठ, मदन पौडेल तथा श्रीराम बजगाईँ तथा कार्यक्रम व्यवस्था विभाग प्रमुख शुभेक्षा खड्काले सहजीकरण गर्नुभएको थियो ।

इन्सेक प्रदेश संयोजक कृष्ण गौतमले शिक्षा, स्वास्थ, खाद्य र आवासको अधिकारका विषयमा जिम्मेवार निकायलाई जवाफदेही बनाउने काममा सबैको सक्रियताको रहेको उल्लेख गर्नु भयो । समीक्षा कार्यक्रममा जिल्ला प्रतिनिधि र सहजकर्ताका बीचमा समूहगत रूपमा सिकाई, उपलब्धी, चुनौती तथा अवसरका बारेमा छलफल र प्रस्तुति समेत गरिएको थियो । इन्सेक बागमती प्रदेशका कार्यक्रम संयोजक गणेश भण्डारीले इन्सेक प्रतिनिधि तथा सहजकर्ताले स्थानीय तह र क्षेत्रमा रहेर गर्ने काम नै इन्सेक सूचनाको स्रोत भएको बताउनुभयो । समूहगत छलफलमा इन्सेकले शिक्षा, स्वास्थ्य, खाद्य र आवासमा प्राप्त उपलब्धी, पीडितलाई न्यायका लागि गरिएका पहलको सूचिकरण गरिएको छ । साथै यस अवधिमा कार्यक्रम गर्दा आएका चुनौति, अवसर र सहजकर्ता तथा प्रतिनिधिले गरेका पहलका विषयलाई एकीकृत गरिएको छ ।

पुष्पराज अधिकारी