बागमती प्रदेश प्रहरी प्रमुखसँग इन्सेकको टोलीद्वारा मानव अधिकारको विषयमा छलफल
मकवानपुर । २०८० जेठ २७ गते
बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी किरण राणासँग इन्सेकको अध्यक्ष डा. कुन्दन अर्याल नेतृत्वको टोलीले ०८० जेठ २५ गते मानव अधिकार अवस्थाको विषयमा छलफल गरेको छ । बागमती प्रदेश प्रहरी कार्यालयमा पुगेर अध्यक्ष अर्यालसहितको टोलीसँग डिआइजी राणाले मानव अधिकारको रक्षाका लागि सरकार समन्वय र सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनु भयो । संविधानले व्यवस्था गरेको नागरिकको अधिकार पनि राज्यले दिन नसकेको भन्दै मानव अधिकार संरक्षणका लागि प्रतिबद्ध रहेको बताउँदै इन्सेकले नागरिकको सरल जीवन जीउन महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ ग्रहण गर्दै डिआइजी राणाले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाको सङ्कलन र विश्लेषणले भविष्यमा मानव अधिकारको अवस्थाको अभिलेख हुने बताउनु भयो । मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा कमी ल्याउन सरकारसँग सहकार्य भए मानव अधिकारको संरक्षणमा थप सुधार हुने भन्दै अध्यक्ष अर्यालले समग्र मानव अधिकारको अवस्थाका बारेमा जानकारी गराउनु भयो ।
विशेष गरी राज्यपक्षबाट हुने मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूमा शून्यमा झार्न सरकार लाग्नुपर्ने भन्दै विभिन्न प्रकारका जनचेतना कार्यक्रमहरू आयोजनाका साथ प्रदेश सरकारसँगै काम गर्न इन्सेक तयार रहेको अध्यक्ष अर्यालको भनाइ छ । सशस्त्र द्वन्द्वका समयदेखि नै मानव अधिकारको संरक्षणका लागि इन्सेकले काम गर्दै आएकोमा हाल शिक्षा, स्वास्थ्य, खाद्य लगाएतको क्षेत्रमा सचेतनाको काम गरिरहेको इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले जानकारी गराउनु भयो । प्रहरीको सुरक्षामा सुधार ल्याउन आफूले नयाँ कन्सेप्ट लिएर जिल्लामा स्मार्ट कन्ट्रोल रुम निर्माणमा लागि परेको डिआइजी किरण राणाले बताउनु भयो । उक्त छलफलमा अध्यक्ष अर्यालसहित इन्सेक केन्द्रीय कार्यालयका वरिष्ठ अधिकृत कृष्ण गौतम र इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीलगायत सहभागी हुनु भएको थियो ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा