बालअधिकार कार्यक्रम सञ्चालन गर्न विद्यालयलाई सहयोग
तनहुँ । २०७८ जेठ २७ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बालअधिकार कार्यक्रम सञ्चालन गर्न भानु नगरपालिका–३ स्थित जनजागृती माध्यमिक विद्यालयलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । बालअधिकार चेतना समूह गठन भइ बालअधिकार कार्यक्रम सञ्चालन भएको सो विद्यालयमा बालबालिकाको प्रतिभा प्रस्फुटन हुने विभिन्न कार्यक्रम सञ्चालनको लागि आर्थिक सहयोग उपलब्ध गराइएको हो । इन्सेक तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले जेठ २६ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बमबहादुर गुरुङ र विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद न्यौपानेलाई विद्यालयमा गइ ७ हजार ३ सय ७१ रुपियाँ बालअधिकार चेतना समूह कोष अन्तरगतको सो रकम उपलब्ध गराउनुभएको हो ।
सो अवसरमा विद्यालयका प्रधानाध्यापक न्यौपानेले उक्त रकमले बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने विभिन्न कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले यस शैक्षिक सत्रमा अब कार्यक्रम सन्पन्न गर्न सम्भव नरहेको भन्दै आगामी शैक्षिक सत्रमा विभिन्न रचनात्मक कार्यक्रम गरिने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुङले इन्सेकको सहयोगले बालबालिकालाई निकै लाभ पुग्ने बताउनुभयो ।
सोही अवसरमा मानवअधिकार समूहको तर्फबाट इन्सेक प्रतिनिधिले विद्यालयमा विभिन्न मागहरु समेटिएको ज्ञापनपत्र समेत पेश गर्नुभएको थियो । ज्ञापनपत्रमा लामो समयसम्म कोभिडको जोखिमको कारण शिक्षण संस्थाहरु बन्द भएको हुँदा कोभिडको जोखिम कम भएपछि आगामी शैक्षिक सत्रमा विद्यार्थीको पठन पाठनलाई प्रभावकारी र सिकाईमुलक बनाउनुपर्ने, सामुदायिक विद्यालयमा दरबन्दी अनुसारको शिक्षक नभएको, निम्नमावि तथा मावि तह सञ्चालन भएपनि प्राविको दरबन्दीका शिक्षकले अध्यापन गराउनुपर्ने बाध्यता रहेको हुँदा आवश्यक दरबन्दीको सिर्जना र दरबन्दी अनुसारको शिक्षक व्यवस्थापनकोलागि पहल गर्नुपर्ने माग गरिएको छ ।
त्यस्तै विद्यालयमा स्वच्छ खानेपानीको अभाव रहेको हुँदा स्वच्छ खानेपानीको व्यवस्थापन गरिनुपर्ने, छात्राहरुकोलागि छुट्टै शौचालय भएपनि छात्र र शिक्षकहरुकोलागि एउटै मात्र शौचालय रहेको हुँदा अलगअलग शौचालयको व्यवस्थापन गर्नुपर्ने, बालविवाहको कारण विद्यालय छाड्ने दर बढी भएको हुँदा बालविवाहलाई निरुत्साहन गर्न सचेतना मुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, सरकारले सबै समुदायिक विद्यालयमा जङ्कफुड मुक्त गरी दिवा खाजाको व्यवस्था गरेको भएपनि विद्यालय भित्रको क्यान्टिन र पसलमा जङ्कफुडहरु बिक्री वितरण भइरहेको हुँदा त्यसलाई नियन्त्रण गरिनुपर्ने माग गरिएको छ ।
त्यस्तै विद्यालयमा खेल मैदानको अभाव रहेको तथा अपाङ्गमैत्री पुर्वाधारहरु नभएको र विद्यालयमा शैक्षिक सामाग्रीहरु पर्याप्त नभएको हुँदा भौतिक पुर्वाधार शैक्षिक सामाग्रीको पर्याप्ताको लागि पहल गर्नुपर्ने, विद्यालयमा सेनेटरी प्याडको अभावको कारण महिनावारीको समयमा आधारभुत तह माथिका छात्राहरुले विद्यालय छाड्ने गरेको हुँदा छात्राहरुकोलागि सेनेटरी प्याडको सहज व्यवस्थापन गरिनुपर्ने लगायत कुराको माग गरिएको छ ।
प्रकाशचन्द्र भट्टराई