बालसञ्जाल कास्कीको समीक्षा तथा योजना बैठक सम्पन्न

कास्की । २०७९ जेठ २९ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र, सामाजिक विकास कार्यालय र जिल्ला बाल सञ्जाल कास्कीको आयोजनामा समीक्षा तथा योजना बैठक जेठ २८ गते पोखरामा सम्पन्न भएको छ ।  बैठकमा स्थानीय सरकारको नीति तथा कार्यक्रममा बालबालिका मुद्दालाई कसरी समेट्न सकिन्छ र बाल सञ्जाललाई आगामी दिनमा क्रियाशील बनाउनका लागि योजना तयार गरिएको सञ्जाल अध्यक्ष समीक्षा लामिछानेले जानकारी दिनु भयो । बैठकले बालबालिकाको समस्या र अधिकारसम्बन्धी सार्वजनिक सुनुवाइ गर्ने, स्थानीय तहलाई बालबालिकाको क्षमता विकासका लागि तालिम सञ्चालनका लागि आग्रह गर्ने, प्रत्येक स्थानीय तहमा बालग्राम निर्माणका लागि पहल गर्ने जस्ता निर्णय गरेको उहाँले जानकारी दिनु भयो ।

 

सञ्जालको मासिक बैठकका लागि इन्सेक गण्डकी प्रदेश कार्यलयको मानव अधिकार सहायता कक्षलाई उपयोग गरिने निर्णय समेत गरिएको लामिछानेले बताउनु भयो । बैठकमा सञ्जालका सदस्य सफलता राईले बाल सञ्जाललाई स्थानीय तह स्तरसम्म पुर्‍याउन आवश्यक रहेको बताउँदै विद्यालयस्तरमा बालक्लव गठन गरेर अगाडि बढ्न सकिने सुझाव राख्नुभएको थियो । इन्सेक गण्डकी प्रदेश संयोजक शिवप्रसाद खकुरेलले बाल सञ्जालले बालबालिकाको अधिकारका क्षेत्रमा स्थानीय सरकारसँगै रहेर काम गर्नुपर्ने बताउँदै सदैव सहयोग र सहजिकरणका लागी इन्सेक तयार गरेको बताउनु भयो । वैठकबाट सञ्जालको कार्यसमिति सदस्य १३ पुर्‍याउने निर्णय समेत गरिएको छ । इन्सेक गण्डकीको आयोजना तथा सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा ०७९ वैशाख २१ र २२ गते गरिएको बाल भेलाबाट बाल सञ्जाल गठन गरिएको थियो ।

सुशन घिमिरे