बाल अधिकार चेतना समूहद्वारा जनचेतनामूलक सडक नाटक प्रदर्शन

कञ्चनपुर । २०७९ चैत १७ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयद्वारा बेलौरी नगरपालिका–२ गोकुलपुरस्थित श्री लक्ष्मी माध्यमिक विद्यालय र वाड नम्बर ३ स्थित श्री जनजागृती पुष्पलाल स्मृती माध्यमिक विद्यालयमा गठित बाल अधिकार चेतना समूहको संयुक्त टोलीले चैत १६ गते जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेको छ । लागुपदार्थ दुव्र्यसनले समाजमा पारिरहेको असर र न्यूनिकरणमा सरोकारवालाहरुको भुमिका बिषयमा बाल अधिकार चेतना समुहले सचेतना फैलाउने उद्धेश्यले चैत्र १६ गते गोकुलपुर बजारमा सडक नाटक प्रदर्शन गरेको हो । सडक नाटक प्रदर्शनमा शिक्षक, अभिभावक, मानव अधिकार समुहका सदस्यहरुलगायत सयौँको सङ्ख्यामा स्थानीयहरूको उपस्थिति रहेको थियो । सडक नाटक प्रदर्शन कार्यक्रममा बालबालिकाहरुले लागुऔषध दुव्र्यसनले समाजमा पारिरहेको नकारात्मक असर र रोकथामका लागि सरोकारवालाहरुको भुमिका झल्काउने प्रयास गरेका थिए । मानव अधिकार समुहका अध्यक्ष गोबिन्द सापकोटाले समुदायमा व्याप्त रुपमा फैलिदै गइरहेको लागुपदार्थ दुव्र्यसनीको विकृतीलाई अन्त्य गर्न हामी समुदायका सबै व्यक्तिहरु सचेत हुनु पर्ने नाटक मार्फत बालबालिकाहरुले प्रस्तुत गरेको बताउनु भयो । उहाँले सडक नाटक सन्देशमूलक रहेको बताउँदै यस प्रकारका सडक नाटक प्रस्तुत गर्दा बिषयबस्तुको कानुनी ज्ञान पनि हुनु पर्ने बताउनु भयो । सडक नाटक प्रदर्शनमा शिक्षक, अभिभावक, बालबालिकाहरु, वडाध्यक्ष, स्थानीय व्यापारी, मदिरा सेवन गरिरहेका मानिस र प्रहरीले लागु औषध दुव्र्यसन न्यूनिकरणमा खेल्न सकिने भुमिका झल्कीने कथा प्रस्तुत गरिएको थियो ।

यसैगरी इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र बेलौरी नगरपालिकास्तरीय मानव अधिकार समुहको सयुक्त आयोजना तथा बेलौरी नगरपालिकाको समन्वयमा वातावरण संरक्षण र वातावरणको अधिकारसम्बन्धी कार्यशाला गोष्ठी चैत १६ गते बेलौरी नगरपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा  मानव अधिकार समूूह बेलौरीका उपाध्यक्ष पदमबहादुर शाहले बेलौरी नगरपालिका–१० मा रहेको चीनिमिलबाट उत्सर्जन हुने दुर्गन्ध तथा फोहोरले मानव स्वास्थ्यमा पारिरहेको असरका कारण भविष्यमा गम्भीर समस्या आउन सक्नेप्रति सरोकारवालाहरुलाई सजग रहेर आवस्यक नीति निर्माण गरेर उक्त चीनिमिलको व्यवस्थापन गर्न स्थानीय सरकारसँग आग्रह गर्नु भयो । बेलौरी नगरपालिका बिपद् व्यवस्थापनका सम्पर्क व्यक्ति किशोर महराले नगरपालिकामा हालसम्म पनि बिपद् व्यवस्थापन शाखा स्थापना नभएकोले आफूले सम्पादन गर्नु पर्ने कामहरु प्रभावकारी हुन नसकेको भए पनि वातावरण संरक्षणको लागि नगरपालिकाले वातावरण संरक्षण नीति निर्माण गरेर काम गरिरहेको बताउनु भयो । उहाँले नगरपालिका क्षेत्रमा स्थापना भएका उद्योग, कलकारखाना नजिक नागरिकहरुले आवास निर्माण गर्ने गरेका कारण समस्या उत्पन्न भइरहेको र बेलौरी नगरपालिमा घरनक्सा पास गरेर घर निर्माण गर्नेको सङ्ख्या न्यून रहेकोले अनुगमन गर्न समस्या भइरहेको बताउनु भयो । बेलौरी नगरपालिका–२ वडासदस्य साबित्री सार्कीले ईटाभट्टालगायतका उद्योगहरु सञ्चालन गर्ने अनुमती दिदा स्थलगत निरीक्षण गर्न आवश्यक रहेको बताउनु भयो । श्री जनजागृती पुष्पलाल स्मृती माध्यमिक विद्यालयका अभिभावक धनराज गिरीले समूदायमा निर्माण भइरहेका सडकहरुमा माटो हालेर गाडीहरु हाकीरहेको तर निर्माण गर्ने पक्षबाट पानी नहाल्दा धुलो उडेर विभिन्न रोगको संक्रमण भइरहेको बताउनु भयो । मानव अधिकार समुह बेलौरीका अध्यक्ष गोबिन्दप्रसाद सापकोटाले प्रत्येक नागरिकको घरबाट निस्किने फोहोरहरुलाई कुहिने र नकुहिने छुट्याएर व्यवस्थापन गर्न सकेमात्रै वातावरणलाई स्वच्छ बनाउन केही हदसम्म सहयाग हुने भएकोले नागरिकहरुले अधिकारसँगै कर्तव्य पनि पालना गर्न आग्रह गर्नु भयो । कार्यक्रममा इन्सेक कञ्चनपुर जिल्ला सहजकर्ता कैलाश पनेरुले राष्ट्रिय वातावरण नीति २०७६ प्रस्तुत गर्दै नीतिको कार्यान्वयनको अवस्थाका बारेमा सहजिकरण गर्नु भएको थियो ।

लिली कुँवर