बाल अधिकार चेतना समूहद्वारा जनचेतनामूलक सडक नाटक प्रदर्शन

कैलाली । २०८० जेठ १२ गते

लालझाडी गाउँपालिका–२ शंकरपुर स्थित श्री भानु माध्यमिक विद्यालयमा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूहले लागु औषध दुर्वसनीले समाजमा पारिरहेको असर र न्यूनिकरणमा सरोकारवालाहरुको भूमिका बिषयमा सडक नाटक जेठ १२ गते लालझाडी गाउँपालिकाको कार्यालय अगााडी प्रदर्शन गरेको छ । बाल अधिकार चेतना समूहले प्रदर्शन गरेका सडक नाटकका शिक्षक, विद्यार्थी, अभिभावक, मानव अधिकार समुहका सदस्यलगायत सयौँको स्थानीयहरुको सहभागिता रहेको थियो । सडक नाटक प्रदर्शन कार्यक्रममा बालबालिकाहरुले लागुऔषध दुर्वेसनीले समाजमा पारिरहेको नकरात्मक असर र रोकथामका लागि सरोकारवालाहरुको भूमिका झल्काउने प्रयास गरिएको थियो । मानव अधिकार समूह लालझाडीका संयोजक सोमनाथ रानाले पछिल्लो समयमा लालझाडी गाउँपालिकामा लागुऔषध ओसारपसार तथा सेवन गर्नेहरुको ट्रान्जीट प्वाईन्ट बन्दै गइरहेकोले यस्ता खाले नाटकहरुमार्फत समाजमा सकरात्मक सन्देश प्रवाहगरेकोमा बालअधिकार चेतना समूहलाई धन्यवाद ज्ञापन गर्नु भयो । १३ जाना पात्रहरु रहेको सडक नाटकमा बालबालिका, शिक्षक, वडाध्यक्ष, स्थानीय मदिरा खरिदविक्री गर्ने व्यापारी, मदिरा सेवन गरिरहेका साथीहरु, प्रहरीलगायतको लागु औषध दुर्वेसनी न्यूनिकरणमा खेल्न सकिने भूमिका झल्कीनेखालको कथा प्रस्तुत गरिएको थियो ।

        

यसैगरी लालझाडी गाउँपालिका–२ शंकरपुरस्थित श्री भानु माध्यामिक विद्यालयमा गठित बाल अधिकार चेतना समूहले हालै सम्पन्न भएको विद्यार्थी भर्ना अभियानको अवसर पारेर विद्यालय भन्दा बाहीर रहेका बालबालिकाहरुलाई भर्ना गराउन अभिभावकलाई सचेत पार्ने उद्धेश्यले सडक नाटक तयार पारेर लालझाडी गाउँपालिका–२ कञ्ज बजारमा प्रदर्शन गरेको छ । सडक नाटक प्रदर्शन कार्यक्रममा बालबालिकाहरुले शिक्षाको महत्व, शिक्षित परिवार र अशिक्षित परिवारबीचको भिन्नता, छोरीहरुलाई विद्यालय नपठाएमा उनीहरुले भविश्यमा पाउने दुःख झल्काउने प्रयास गरिएको थियो । बालबालिकाहरुद्वारा प्रदर्शन गरिएको सडक नाटक हेरेर धर्म र संस्कारका नाममा बालबालिकाहरुको सानै उमेरमा विवाह गर्ने, छोरीहरुलाई विद्यालय पठाएमा देउता रिसाउने, अनिष्ठ हुने जस्ता कुसंस्कारहरु अझै पनि समाजमा व्याप्त रहेकाले यस्ताप्रकारका नाटकले जनचेतना जागृत गर्ने भएकोले बालबालिकाहरुलाई अझै बिषयबस्तुमा निखारीएर समुदायमा जनचेतना फैलाउन आवश्यक रहेको विद्यालयका संरक्षक शिक्षक टेकराज जोशीले बताउनु भयो ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी