बाल अधिकार समूहद्वारा प्याडको माग गर्दै ध्यानाकर्षण
सुर्खेत । २०८१ असार ११ गते
इन्सेकद्वारा गठित विद्याज्योति सहनशील बाल अधिकार समूह पञ्चपुरी नगरपालिका–५ ले विद्याज्योति माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समितिलाई प्याडको माग गर्दै असार १० गते ध्यानाकर्षण पत्र बुझाइएको छ ।
बाल अधिकार समूहका पदाधिकारीहरुले सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि,२०७६ अनुसार सामुदायिक विद्यालयमा अध्ययनरत किशोरावस्थाका छात्राहरुलाई महिनावारी समयमा आवश्यक पर्ने महिनावारी सामाग्री उपलब्ध गराइ स्वास्थ्यमा सुधार गरि सोहि कारणबाट विद्यालय छाड्ने समस्या समाधान गर्न, गुणस्तरीय शिक्षाको प्रत्याभूति गर्न र महिनावारी व्यवस्थापन सामग्रीको दिगो विसर्जन तथा पुनꓽप्रयोग गर्न निर्देशित गरिएपनि विद्यालयमा अध्ययनरत किशोरीहरुले ०८० माघदेखि हालसम्म पनि नियमितरुपमा प्याड नपाएकोप्रति ध्यानाकर्षण गरिएको हो ।
ध्यानाकर्षण पत्रमा विद्यालयमा भएको समस्या समाधान गर्ने प्रमुख जिम्मेवारी विद्यालय व्यवस्थापन समितिको भएपनि त्यसप्रति समितिले चासो देखाउनुपर्ने उल्लेख गरिएको छ ।
समूहले नेपालको संविधानको भाग ३ को धारा ३१ मा शिक्षा सम्बन्धी हक अन्र्तगत उपधारा १ मा प्रत्येक नागरिकलाई आधारभुत शिक्षामा पहुँचको हक, धारा ३९ को उपधारा २ मा प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्वको विकासको हकको व्यवस्था रहेको भन्दै आफ्नो विद्यालयका किशोरीहरुको हक अधिकार सुनिश्चिताको लागि ध्यानाकर्षण पत्रद्वारा सबै किशोरीहरुले आफ्नो हकको अनुभूति गर्ने उल्लेख गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै विद्यालय व्यववस्थापन समितिका अध्यक्ष लोकेन्द्र रावलले प्याडको व्यवस्थापनका लागि आफूहरु लागि समन्वय गरिरहेको बताउनुभयो । उहाँले अबको केही दिनबाट नियमितरुपमा प्याड उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्याड हस्तान्तरण कार्यक्रममा विद्याज्योति सहनशील बाल अधिकार समूहका अध्यक्ष यमुना ओड, उपाध्यक्ष नवराज महतरा, सचिव नम्रता सार्की, कोषाध्यक्ष विष्णा विक लगायतका अन्य पदाधिकारी र इन्सेक जिल्ला सहजकर्ता ललिता बिकको सहभागिता रहेको थियो ।
जगतदल जनाला विक