बाल अधिकार समूहद्वारा बालविवाह विरुद्ध सडक नाटक प्रदर्शन
कैलाली । २०८० जेठ ३२ गते
इन्सेकद्वारा गठित कैलारी गाउँपालिका–७ भुइयाफाँटास्थित राष्ट्रिय माध्यामिक विद्यालय बाल अधिकार चेतना समुहले बाल विवाह न्यूनिकरणमा सारोकारवालाको भुमिका विषयक सडक नाटक जेठ ३१ गते कैलारी गाउँपालिका–७ को वडा कार्यालय अगाडी प्रदर्शन गरेको छ । बाल अधिकार चेतना समूहले प्रदर्शन गरेको सडक नाटकमा शिक्षक, विद्यार्थी, अभिभावक, मानव अधिकार समूहका सदस्यलगायत स्थानीयको सहभागिता रहेको थियो । सडक नाटक प्रदर्शनमार्फत बाल विवाहबाट व्यक्ति, परिवार र समाजमा परिरहेको नकरात्मक असर र बालविवाह रोकथामका लागि समूदायको भुमिका बारे जनचेतना फैलाउने प्रयास गरिएको थियो । मानव अधिकार समूहका सचिव ज्ञानु चौधरीले समाजमा बालविवाह प्रयाप्त भइरहेकाले यसको नकारात्कम असरबारे कसैले ध्यान नदिदा बिभिन्न हिंसाका घटनाहरु भइरहेकाले यसबारे चेतना फैलाउन बाल अधिकार समूहले महत्वपूर्ण कार्यक्रम गरेको बताउनु भयो ।
बाल अधिकार चेतना समूहकी अध्यक्ष एलिजा चौधरीले सडक नाटकमार्फत बालविवाह न्यूनिकरणका लगि सचेतना फैलाउन र आफू भित्रको प्रतिभा प्रस्फुटन भएकाले क्षमतामा विकास भएको बताउनु भयो । कैलारी गाउँपालिका–५ पवेरास्थित जनकल्याण माध्यामिक विद्यालयमा गठित बाल अधिकार चेतना समूहले बालविवाह न्यूनिकरणमा सारोकारवालाको भुमिका विषयक सडक नाटक कैलारी गाउँपालिका–१ स्थित हरीनगर चोक र पवेरा बजारमा प्रदर्शन गरेको थियो । बाल अधिकार चेतना समूहका संरक्षक शिक्षक सन्राम चौधरीले यस सडक नाटक प्रदर्शनले बालबालिकामा भएको प्रतिभामा थप विकास गर्न र समाजमा व्याप्त बालविवाहका नकारात्मक असरका सन्दर्भमा महत्वपूर्ण सन्देश दिएको बताउनु भयो ।
मैनामोती चौधरी