बाल क्लव समूहद्वारा जनचेतनामुलक सडक नाटक प्रदर्शन
धनुषा । २०७९ फागुन १२ गते
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले गठन गरेको धनुषाको बटेश्वर गाउँपालिका–४ स्थित श्री शिवशक्ति माध्यमिक विद्यालय बटेश्वरका बाल अधिकार सचेतना समूहका विद्यार्थीहरूले जनचेतनामुलक सडक नाटक माघ १० गते प्रदर्शन गरेको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेबार निकायलाई जवाफदेही बनाउने उदेश्यले बटेश्वर गाउँपालिकाको मुख्य केन्द्र बिन्दु बटेश्वर बजारमा सडक नाटक प्रदर्शन गरेको इन्सेक धनुषा सहजकर्ता अनिता यादवले बताउनुभयो । नाटकमा हाम्रो समाजमा बालविवाहले निम्त्याएको सामाजिक, आर्थिक तथा शारिरिक समस्याहरूबारे घटनाक्रमलाई शिलशिलेबार रुपमा प्रस्तुतीकरण गरिएको छ । नाटकको माध्यमबाट समुदायमा दाइजो प्रथा यथावतै रहेको कारणले छोरीलाई चाँडै विवाह गर्ने र छोरीलाई संसार देख्नबाट बञ्चित गर्ने नियतले महिलाको गर्भमै बच्चाको हत्या सम्मको क्रियाकलाप हाम्रो समुदायमा यथावत रहेको कुरा दर्साउन खोजेको सडक नाटकको लेखिका समेत रहेकी बाल अधिकार सचेतना समूह बटेश्वरकी अध्यक्ष उमा कुमारी महतोले बताउनुभयो ।
सडक नाटक हेर्दा समाजका यर्थाथ चित्रण गरिएको आफूलाई महसुस भएको श्री शिव शक्ति माध्यमिक विद्यालय बटेश्वरका प्रधानाध्यापक प्रमोद शरण केवटले प्रतिक्रिया दिनुभयो । उहाँले आफ्नै विद्यालयका छात्राले लेखेको नाटकले समाजको गतिविधिलाई नाटकिय रुपमा प्रस्तुतीकरण गरेको हेर्न पाउँदा समाजलाई बालविवाह, दाइजो प्रथालगायतको सामाजिक समस्या निराकरणका लागि सन्देश प्रवाह गरेको प्रधानाध्यापक केवटको बुझाई रहेको बताउनुभयो ।
दिपेन्द्रप्रसाद सिंह