बाल विवाहविरुद्ध सचेतना अभियान कार्यक्रम सम्पन्न
नवलपरासी (सुस्ता पूर्व) । २०७८ फागुन २३ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरको आयोजनामा बाल विवाहविरुद्ध सचेतना अभियान अन्तरगत कावासोती नगरपालिका–१२ मा फागुन २० गते कार्यक्रम सञ्चालन गरिएको छ । इन्सेकद्वारा कावासोती नगरपालिकामा गठन गरिएको मानव अधिकार समूह र बाल अधिकार चेतना समूह शान्ति निकुञ्ज माध्यमिक विद्यालयसँगको सहकार्यमा विद्यालयमा बाल विवाहविरुद्ध सचेतना अभियान अन्तर्गत कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा बाल विवाह हुनुका कारण, यसले पार्ने नकारात्मक प्रभाव, यसको न्यूनिकरणको लागि चाल्नु पर्ने कदम र कानुनी व्यवस्थाहरुको बारेमा अभिमुखिकरण गरिएको थियो ।
कार्यक्रममा सहभागी बालबालिका स्वयम्ले बाल विवाहको कारण परेको असरहरुको बारेमा उदाहरण प्रस्तुत गर्दै बाल विवाह नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा सहजीकरण गर्दै इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले विद्यालयमा बाल विवाहको अवस्थाको बारेमा समेत छलफल र जानकारी लिनुभएको थियो । शान्ति निकुञ्ज माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि प्रसाद न्यौपानेले विद्यालयमा इन्सेकले सञ्चालन गर्ने विभिन्न कार्यक्रमहरुले बालबालिका ज्ञान र चेतना बृद्धि भएको भन्दै धन्यवाद प्रकट गर्नुभएको थियो ।
आर्थिक, सामाजिक, सांस्कृतिक, कानुनी सचेतनाको कमी, सामाजिक सञ्जालको बढ्दो गलत प्रयोग लगायतको कारण बाल विवाह भइरहेको भन्दै उहाँले बाल विवाह न्यूनिकरणको लागि स्वयम् बालबालिका सचेत हुन सक्दा पनि धेरै परिवर्तन हुन सक्ने बताउनुभयो । विद्यालयमा इन्सेकद्वारा गठन गरिएको बाल अधिकार चेतना समूहका सदस्य, विद्यालयको कक्षा ७, ८ र ९ मा अध्ययनरत विद्यार्थी, शिक्षक, अभिभावक लगायतको सहभागिता रहेको थियो ।
मानव अधिकार समूह कावासोती नगरपालिकाले बाल विवाहको कारण शिक्षा, स्वास्थ्य लगायतमा नकारात्मक परेको भन्दै यसकाविरुद्ध सचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार इन्सेक नवलपुरले नगरपालिकाको दुई स्थानमा अभियान सञ्चालन गरेको जिल्ला सहजकर्ता गङ्गा विश्वकर्माले बताउनुभयो ।
तिर्थराज डुम्रे