बेचबिखन तथा ओसारपसार घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

कैलाली । २०८१ साउन २५ गते

बेचबिखन तथा ओसारपसार घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ साउन २४ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।

गोदावरी नगरपालिका–२ की ३८ वर्षीया महिलालाई न्यायिक प्रक्रियामा जान सहज होस् भन्ने उद्धेश्यले इन्सेकले पीडित महिलालाई आर्थिक सहयोग प्रदान गरेको हो ।

पीडित महिलाको पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले न्यायिक प्रक्रियामा जान समस्या भएको भन्दै मानव अधिकार सहायता कक्षमा निवेदन दिएपछि इन्सेक सुदूरश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको हो ।

पीडित महिलालाई २०८० चैत ७ गते बैतडी जिल्ला डिलाशैनी नगरपालिका—७ का २५ वर्षीय धिरज धामी, दार्चुला जिल्ला शैलेशिखर नगरपालिका—३ का ३० वर्षीय गजेन्द्र खत्री, सोही ठाउँका ३० वर्षीया गीता खत्री र कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका—१४ का २५ वर्षीया मन्जु थापाले भारतमा लगेर बेचबिखन गरेको पीडितले बताउनु भयो ।

आफूलाई बेचबिखन गरी सकेको अवस्थामा साहुको घरबाट भागेर नेपाल फर्किन सफल भएपछि आारोपितहरु विरुद्ध २०८१ असार १४ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएको पीडितले बताउनु भयो । पीडित महिलाको स्वास्थ्य परीक्षण असार १४ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।

आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्षमार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रलेख अधिकृत  कृष्णबहादु विश्वकर्माले बताउनु भयो ।

मैनामोती चौधरी