भक्तपुरलाई मानव अधिकारमैत्री बनाउन एकिकृत योजना बनाइने

भक्तपुर । २०७८ असार ३१ गते

भक्तपुर जिल्लालाई मानव अधिकारमैत्री बनाउन एकिकृत योजना बनाइने भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले असार ३१ नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सन् २०२१ को जनवरीदेखि जून अन्तिमसम्म भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रममा सरोकारवाला निकायहरूले जिल्लाका चारओटै नगरपालिकासँग समन्वय गर्दै एकिकृत योजना बनाएर जाने बताएका हुन् । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले मानव अधिकारको रक्षाका लागि जिल्लाका सबै स्थानीय सरकार र सरोकारवाला एकजुट हुनुपर्ने औँल्याउनुभयो । साथै नगरपालिकाको न्यायिक समितिको संयोजकसमेत रहेनु भएका उपप्रमुख बस्नेतले जिल्लालाई अपराध मुक्त बनाएर जान चारओटै नगरपालिका, प्रहरी, सञ्चारकर्मी र सरोकारवाला निकायको छलफलबाट एकिकृत योजना बनाएर जानु पर्ने बताउनुभयो । उहाँले त्यसका लागि आफूले सबैसँग समन्वय गर्ने, नगरपालिकाले व्यवस्थापन गर्ने र इन्सेकको संयोजनमा कार्यक्रम गर्ने बताउनुभयो । नगरपालिकामा आउने उजुरी मध्ये महिला हिंसा तथा घरेलु हिंसाको मुद्दा २० प्रतिशत आउने र अरु साँध सीमाना विवादका मुद्दा आउने गरेको बताउनुभयो । बस्नेतले आफ्नो कार्यकालमा नगरपालिकाको न्यायिक समितिले १ सय ५८ ओटा मुद्दा छिनोफानो गरेको र सम्बन्ध बिच्छेदका मिलाउन नसकेका मुद्दा अदालत पठाएको बताउनुभयो । कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले समाजलाई अपराधबाट मुक्त राख्न सकेमात्र मानव अधिकारको रक्षा हुन्छ भन्दै यसका लागि प्रहरी एक्लैले नसक्ने बताउनुभयो । अपराधमुक्त समाज बनाउन एकिकृत योजना बनाएर जानुपर्नेमा सहमत जनाउँदै उहाँले लागू पदार्थ दुव्र्यसनी, मदिरा सेवनले प्रत्येक वर्ष अपराधका घटनामा वृद्धि गरेको बताउनुभयो । अपराध न्यूनिकरणका लागि समाजका सबै क्षेत्र एकजुट भएर लाग्नुपर्ने धारणा प्रहरी उपरीक्षक श्रेष्ठले राख्नु भयो । कार्यक्रममा चाँगुनारायण नगरपालिका महिला शाखा प्रमुख निला घिमिरे, पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगत प्रजापति, गैसस भक्तपुरका अध्यक्ष नारायण न्यौपाने, पत्रकार महासंघ पूर्व अध्यक्ष पुष्कर बुढाथोकी, राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यलगायतले मानव अधिकारको रक्षाको लागि सबैले प्रतिवद्ध भएर लाग्नु पर्ने बताउनु भएको थियो ।

भक्तपुरमा ६ महिनामा २० जना बलात्कारका घटनाबाट पीडित

कार्यक्रममा इन्सेक भक्तपुरले सार्वजनिक गरेको प्रतिवेदनमा भक्तपुरमा ६ महिनाको अवधिमा बालिका तथा महिला गरी २० जना बलात्कारको घटनाबाट पीडित भएका छन् । जिल्लामा हत्या, कुटपिट बलात्कार तथा बलात्कार प्रयास, बाल यौन शोषण तथा दुव्र्यवहार, बहुविवाह लगायतका घटना भएको छ । यस ६ महिनाको अवधिमा गैर राज्यपक्षको परिवारजनबाट तीन जनाको हत्या भएको, पाँच जनाको हत्या प्रयास भएको छ । बलात्कार प्रयासका घटनाबाट दुई जना, बालयौन दुव्र्यबहारबाट सात जना र बहुविवाहका घटनामा पाँच जना महिला पीडित भएका छन् । यस अवधिमा मानव बेचबिखनबाट तीन जना, मानव बेचबिखनसहित बलात्कारबाट एक जना बालिका, ठगी गरी भएको बलात्कारबाट एक जना, अपहरणपछि बलात्कारबाट एक बालिका पीडित भएका हुन् । घरेलु हिंसाबाट १२ जना महिला पीडित भएकोमा उजुरी आए पनि पाँच जनाको प्रहरी प्रशासनको रोहवरमा मिलापत्र भएको छ भने सात जनाको कानुनी प्रकृयामा गएको अभिलेखमा  उल्लेख गरिएको छ । यस अवधिमा आत्महत्या दुरुत्साहनमा दुई जना, सार्वजनिक स्थलमा यौन दुव्र्यवहारबाट एक जना महिला पीडित भएको इन्सेकले अभिलेख गरेको छ ।

रमेश गिरी