भ्रष्टाचारमा संलग्नलाई कडा कारबाही गर्न नागरिक समाजको माग
रामेछाप । २०८० जेठ ७ गते
नागरिक समाज रामेछापले भ्रष्टाचारमा संलग्नलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन् । इन्सेक लगायत विभिन्न नागरिक संस्थाले नक्कली भुटानी शरणार्थी बनाइ नेपाली नागरिकलाई तेस्रो मुलुकमा पठाउने कार्य लगायत स्थानीय तथा राष्ट्रिय स्तरमा चर्चामा आएका भ्रष्टाचारसम्बन्धि घटनामा सरकारका विभिन्न तहका केही उच्च पदस्थ व्यक्ति र उनका नातागोता समेत संलग्न भएको भन्ने समाचार प्रति रामेछापका मानव अधिकार तथा सामाजिक न्यायको क्षेत्रमा क्रियाशील नागरिक समाज तथा सङ्घ संस्थाहरूको गम्भीर ध्यानाकर्षण भएको छ । सो कार्यको विरोधमा ०८० जेठ ७ गते नागरिक संस्थाले विरोध र्याली सहित सरकारको ध्यानाकर्षण गराएका छन् । मन्थलीको देवकोटा चोकबाट निस्किएको र्यालीले जिल्ला प्रशासन कार्यालयमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी अनोज घिमिरे मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । ध्यानाकर्षण पत्रमा सरकारका विभिन्न तहका केही उच्च पदस्थ व्यक्तिहरू र उनका नातागोता समेत संलग्न भइ गलत ढङ्गले नागरिकहरूलाई अन्य मुलुकमा पठाउनु भनेको मानव तस्करी गर्ने कार्यमा राज्यका अङ्गहरूको दुरुपयोग भएको उल्लेख गरिएको छ । नीति निर्माता र राज्य सञ्चालक नै मानव तस्करी तथा अन्य भ्रष्टाचारजन्य लगायतका आपराधिक गतिविधिमा संलग्न हुनु भनेको राज्य व्यवस्था, शासन प्रणाली, राजनीतिक दलहरू र कानुनी शासनप्रति अविश्वास सिर्जना गर्ने, मुलुकको सार्वभौमसत्ता र नागरिकको आत्मसम्मानमा चोट पुर्याउने विषय भएको नागरिक संस्थाले औँल्याएका छन् ।

यस्ता आपराधिक घटनाहरू कोही कसैबाट पनि नदोहोरिने सुनिश्चितता गर्न दोषीमाथि कडा कारबाही गरिनु पर्ने नागरिक संस्थाको माग छ । आम नागरिकमा राज्य व्यवस्था, राज्यका अङ्ग तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, तथा राजनीतिक दलप्रति विश्वास र भरोसा सिर्जना गर्नका लागि विभिन्न समयमा, विभिन्न तहमा भएका भ्रष्टाचार सम्बन्धी सम्पूर्ण घटनाहरूको निष्पक्ष र पारदर्शी ढङ्गले छानविन गर्न पनि सरकारसँग माग गरिएको छ । दोषीलाई कानुनको कठघरामा उभ्याउन र मुलुकमा विद्यमान कुनै पनि प्रकारका मानव तस्करी लगायत भ्रष्टाचार नियन्त्रण गर्न सरकार समक्ष माग गरिएको छ । यसका साथै अनुसन्धान प्रक्रियालाई सहयोग गरी मुलुकमा अपराध नियन्त्रण गर्न, सुशासनको प्रत्याभूति कायम गराउन र मानव अधिकारको प्रत्याभूति गराउन सम्पूर्ण सरोकारवाला समक्ष माग गरिएको छ । ध्यानाकर्षण पत्रमा गैरसरकारी संस्था महासङ्घ रामेछापका अध्यक्ष रत्न प्रसाद कँडेल, इन्सेक जिल्ला प्रतिनिधि नवराज पथिक, सामुदायिक वन उपभोक्ता महासङ्घ रामेछापका अध्यक्ष ज्ञानबहादुर खड्का, रामेछाप बारका अध्यक्ष पाण्डव प्रसाईँ, नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँघरे, मानव अधिकार एलाइन्स रामेछापका अध्यक्ष थिरबहादुर थापा रवीन, प्रेस चौतारी रामेछापका अध्यक्ष नवराज श्रेष्ठ, प्रेस युनियन रामेछापका अध्यक्ष अप्रिल अधिकारी, प्रेस सेन्टर रामेछापका अध्यक्ष निजोर श्रेष्ठ, भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियानका अध्यक्ष यम बहादुर थापाले हस्ताक्षर गर्नुभएको छ ।
नवराज पथिक
HUMAN RIGHTS NEWS PORTAL






