








रामेछाप । ०७६ पुस ३ गते,
विकासमा बढ्दै गएको भ्रष्टाचार र अनियमितता रोक्न नागरिकसमाज र पत्रकारको सक्रिय भूमिका हुनु पर्नेमा रामेछापका राजनीतिक दल, पत्रकार र नागरिक समाजले जोड दिएका छन् । जिल्लाका सर्वसाधारण, नागरिक समाजका अगुवा, पत्रकार र राजनैतिक दलका प्रतिनिधिहरुले सबै क्षेत्रमा भ्रष्टचार बढ्दै गएको गुनासो गरेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको पारस्परिक जवाफ देहिता परियोजनाले मानवअधिकार संरक्षण सञ्जाल रामेछापसँगको समन्वयमा ०७६ पुस ३ गते सदरमुकाम मन्थलीमा आयोजना गरेको विकासका लागि नागरिक समाज र सञ्चार जगत बिषयक अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो गुनासो गरेका हुन् ।
कार्यक्रममा नेकपा रामेछापका नेता आनन्द श्रेष्ठले मुलुकमा बढ्दो भ्रष्टचार रोक्नका लागि अहिलेको विकासमा तरिकामा नै परिवर्तन गर्नुपर्ने बताउनु भयो । उहाँले अहिले स्थानीय स्तरमा हुने विकास निर्माणका काममा कमाउने मनसायले उपभोक्ता समितिमा बस्न तँछाड मँछाड गर्ने प्रचलन बढेकाले यसलाई कम गर्नका लागि विकासको मोडलमा नै परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो । आवश्यकताको पहिचान विना बजेट विनियोजन गर्ने प्रचलनका कारण पनि रामेछापमा भ्रष्टचार हुने गरेको नेता श्रेष्ठको भनाई छ ।
नेपाली कांग्रेसका सचिव लेख बहादुर कार्कीले पदको स्वादमा भुल्दा निर्वाचित जनप्रतिनिहरुले आफूू निर्वाचित भएको पार्टीलाई नै भुलेको बताउनु भयो । जिल्लाको विकास निर्माण लगाएतका काममा अनियमितता बढ्दो रुपमा रहेको बताउँदै सचिव कार्कीले अब राजनैतिक दलले उम्मेदवारको बिषयगत योग्यता हेरेर मात्रै टिकट दिनुपर्ने बताउनु भयो । अहिलेको कार्यसैली हेर्दा निर्वाचित जनप्रतिनिधिहरु दिनदिनै असफल हँुदै गएकाले यसले मुलुकको अहिलेको प्रणलीलाईनै असफल बनाउने खतरा रहेकाले सबै सहजग हुन आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघ रामेछापका उपाध्यक्ष रत्न प्रसाद कडेंल र पत्रकार महासंघ रामेछापका सचिव नवराज श्रेष्ठले अहिलेका जनप्रतिनिधिहरु कसरी कमाउन सकिन्छ भन्नेमा लागेको सर्वसाधारणको गुनासो रहेको बताउनु भयो । सहभागिहरुले यस्ता विषय पत्रकार र नागरिक समाजले संगठित रुपमा उठाउनु पर्ने बताए ।
मानवअधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा सहभागिहरुले निर्वाचित हुँदा आर्थिक अवस्था सामान्य भएका जनप्रतिनिधिहरुले अहिले काठमाडौँमा घर किन्ने हैसियत बनाएको बताउनु भयो । यो हैसियत कसरी बन्यो भन्ने बारेमा पत्रकार र नागरिक समाजले खोज्नु पर्ने उनीहरुको भनाई थियो ।
नवराज पथिक