मध्यविन्दुमा वातावरण संरक्षण र वातावरणको अधिकार सम्बन्धी कार्यशाला सम्पन्न
नवलपरासी (सुस्ता पूर्व) । २०७९ चैत २४ गते
इन्सेक गण्डकी प्रदेशको आयोजनामा मध्यबिन्दु नगरपालिकामा वातावरण संरक्षण र वातावरणको अधिकार सम्बन्धी कार्यशाला चैत २२ गते सम्पन्न भएको छ । इन्सेक गण्डकी प्रदेशको आयोजना तथा मानव अधिकार समूह मध्यविन्दुको समन्वयमा उक्त कार्याशाला सम्पन्न भएको हो । कार्यक्रममा मध्यविन्दु नगरपालिकाले वातावरण संरक्षणको लागि योजनाबद्ध रुपमा कार्यक्रम अगाडी बढाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुले बताउनुभयो । गण्डकी प्रदेश सरकारसंगको साझेदारीमा नगरपालिकाले “प्रदुषण न्यूनीकरण, फोहरमैला व्यवस्थापन र जैविक मल उत्पादन कार्यक्रम” सञ्चालन गरेको बताउनुभयो । नगरपालिकाले फोहरमैला व्यवस्थापनको लागि आवश्यक ऐन समेत नगरसभाबाट पारित गरेर त्यसको कार्यान्वयनमा लागेको उहाँले बताउनुभयो । एकतर्फ फोहर डढ्ने र अर्को तर्फ वन डढ्ने वर्तमान अवस्थाको अन्त्यको लागि फोहर व्यवस्थापनसंगै जैविक मल उत्पादनलाई समेत संगै अगाडी बढाएको उहाँले बताउनुभयो ।
मध्यबिन्दु नगरपालिका– ७ का अध्यक्ष कर्णबहादुर मल्लले वातावरण संरक्षणका लागि सबै पक्ष सक्रिय भई सचेतनाका अभियान संचालन गर्नुपर्ने बताउनुभयो । घर, समुदायबाट नै फोहरमैलाको उचित व्यवस्थापन गर्दै सरसफाईमा ध्यान दिनुपर्ने आवश्यकता रहेको मल्लले बताउनुभयो ।कार्यक्रममा सहभागीहरूले विस्तारको क्रममा रहेको पूर्वपश्चिम महेन्द्र राजमार्गमा उड्ने धुलोको कारण मानव स्वास्थ्यमा नै प्रतिकुल असर पर्ने भन्दै सम्बन्धित पक्षहरुले आवश्यक पहल गर्नुपर्ने बताएका थिए । कार्यक्रममा मध्यबिन्दु मानवअधिकार समूहका अध्यक्ष भुपलाल अर्यालले सबै पक्ष लागेर वातावरण संरक्षण गर्न साथै वातावरण अधिकार सम्बन्धि जानकारी प्राप्त गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । मानव अधिकार समुहद्वारा स्थानीयतहसँग समन्वय गरी शिक्षा, स्वास्थ्य, वातावरण तथा जातिय विभेद सम्बन्धी सचेतनामूलक कार्यक्रमसँगै वातावरण र मानवअधिकारको रक्षाका लागि काम गर्ने अर्यालले बताउनुभयो ।
तिर्थराज डुम्रे