मध्यविन्दु नगरपालिकामा दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

नवलपरासी (सुस्ता पूर्व) । २०७९ पुस १२ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश कार्यालयको आयोजनामा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यविन्दु नगरपालिकामा दुई दिने मानवअधिकार समूहका सदस्य र सरोकारवालाहरूको लागि क्षमता अभिवृद्धि तालिम पुस ११ र १२ गते सम्पन्न भएको छ । दुई दिन सम्म सञ्चालन भएको कार्यक्रमको उद्घाटन गर्दै मध्यविन्दु नगरपालिकाका नगर उपप्रमुख पूर्णकला चौधरीले मानवअधिकारको रक्षाको लागि सबै सरोकारवालाहरू एकजुट हुनुपर्ने बताउनुभयो । मध्यविन्दु नगरपालिकाको तर्फबाट मानवअधिकारको प्रत्याभूतिसंगै गठित समूहको क्षमता अभिवृद्धिमा आवश्यक सहयोग रहने बताउनुभयो । मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले तालिममा मध्यविन्दु नगरपालिकाको नीति तथा कार्यक्रम र त्यसको कार्यान्वयनको अवस्थाको बारेमा सहजिकरण गर्नुभयो । समूहका सदस्य, सरोकारवाला र जनप्रतिनिधिको सहभागितामा शुरु भएको तालिममा इन्सेकका बारेमा जानकारी, मानव अधिकारको अवधारणा, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, शिक्षा, स्वास्थ्य, वातावरण र जातिय विभेद विरूद्धको अधिकार सम्बन्धी विषयमा तालिम मार्पmत क्षमता अभिवृद्धि गर्ने इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले बताउनुभयो ।

        

तालिमको अन्तिम दिन समूहका सदस्य तथा सरोकारवालाहरुको समूह बिभाजन गरी विषगत रुपमा कार्ययोजना निर्माण गरिएको थियो । मध्यविन्दु नगरपालिकामा शिक्षा, स्वास्थ्य, वातावरण र जातिय विभेद विरूद्धको समस्या पहिचान सहित पैरवीका लागि योजना निर्माण गरिएको हो । समस्याको पहिचान सहित सम्बन्धित सरोकारवाला निकायको पहिचान गरी समस्या समाधानको लागि समूहले गर्ने कार्यबारे कार्ययोजना निर्माण गरिएको थियो । दुई दिन सम्म सिकेका सिकाई र निर्माण गरिएको कार्ययोजना कार्यान्वयनको लागि मानवअधिकार समूह क्रियाशिल रहने मध्यविन्दु नगरपालिकाका मानवअधिकार समूह अध्यक्ष भुपलाल अर्यालले बताउनुभयो । दुई दिन सम्म तालिममा प्राप्त सिकाई र समूह छलफलबाट पहिचान गरिएका सवालहरुको पैरवी गर्ने दायित्व स्थानीय मानवअधिकार समूहको भएको इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेलले बताउनुभयो । त्यसका लागि स्थानीय सरकार संगै सम्बन्धित सरोकारवाला निकायसंगको सम्बन्ध बिस्तार र सहकार्य आवश्यकता रहेकोमा उहाँले जोड दिनु भयो । तालिममा मध्यविन्दु नगरपालिकाको विभिन्न वडाका वडा अध्यक्ष, सदस्य, मध्यविन्दु नगर प्रमुखका सल्लाहकार अमृत प्रसाद ज्ञवाली, इन्सेकका कार्यक्रम अधिकृत सवनम शर्मा लगायतको उपस्थिति रहेको थियो ।

तिर्थराज डुम्रे