मध्यविन्दु नगरपालिकामा मानवअधिकार समुह गठन
नवलपरासी (सुस्ता पूर्व) । २०७९ पुस ६ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा मध्यविन्दु नगरपालिकामा मानवअधिकार समुह गठन भएको छ । मानवअधिकार शिक्षा कार्यक्रम परिचय तथा मानवअधिकार समुह गठन कार्यक्रम भुपलाल अर्यालको संयोजकत्वमा भएको हो । समुहको सदस्यहरुमा खिमानन्द पुरी, शिवराज घिमिरे, अञ्जना बोहरा, निशा चौधरी, रामप्रसाद भट्टराई, गौमती थापा, रुपा घिमिरे देवकोटा, आराध्या पंगेनी, बल बहादुर खन्गाहा, ज्ञानुमाया खड्का, सुनिता रामदाम र केवल बहादुर पाल्पाली चयन हुनु भएको छ । कार्यक्रममा मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरू सहित नगरपालिका भित्रका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा पनेरूले मानवअधिकारकर्मीले अधिकार सवालमा पैरवी गर्दा त्यसको कार्यान्वयनको शुरुवात आफैबाट गर्नुपर्ने बताउनुभयो । उहाँले अधिकारको पैरवी गर्ने तर अधिकारको हनन् भएको बेला सहि स्थानमा सहि सवाल उठाउन नसक्ने विगतको अवस्थाबाट माथि उठ्न अनुरोध गर्नु भयो । उहाँले मध्यविन्दु नगरपालिकामा गठित समूहको क्षमता अभिवृद्धि सहित मानवअधिकारको प्रत्याभूतिको लागि नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेपाल पक्ष राष्ट्र भएका विभिन्न महासंधि तथा अविसंधिहरुको कार्यान्वयन गर्ने दायित्व राज्यको भएको बताउनुभयो । उहाँले अधिकारको लागि आवाज बुलन्द बनाउने र सम्बन्धित निकायलाई जवाफदेही गराउने जिम्मेवारी समुहका सदस्यहरूको भएको बताउनुभयो ।
कार्यक्रममा मध्यविन्दु १३ का वडा अध्यक्ष अर्जुन प्रसाद पंगेनीले इन्सेक मार्फत सञ्चालन हुने कार्यक्रम स्थानीय समुदाय सम्म पुग्नुपर्नेमा जोड दिनुभयो । समुह गठन संगै यसको उद्देश्य प्राप्तिको लागि सबै सदस्य प्रभावकारी रुपमा लाग्नुपर्ने उहाँले बताउनुभयो । मानवअधिकार एलायन्स नवलपुरका अध्यक्ष बाबुराम पाण्डेले नेपालको सन्दर्भमा मानवअधिकार सम्बन्धि व्यवस्थाहरु अन्तर्राष्ट्रिय रुपमा सबैले प्रसंशा गर्ने भएपनि त्यसको प्राप्तिको अवस्था कमजोर रहेको बताउनुभयो । अधिकारको संरक्षणमा सबै सरोकारवालाहरू बीचको समन्वय आवश्यक रहेको उहाँको भनाईछ । मानवअधिकार समुहको संयोजक भुपलाल अर्यालले विगतमा इन्सेकको केही कार्यक्रममा सहभागी समेत भएको अनुभव सुनाउदै मानवअधिकार समुहको संयोजकको रुपमा मध्यविन्दु नगरपालिका भित्र मानवअधिकारका सवालहरुको पैरवी गर्ने बताउनुभयो । कार्यक्रमलाई निर्वाचन संयोजकको रुपमा रहनु भएका मध्यविन्दु नगरपालिकाका प्रमुख सल्लाहाकार अमृतप्रसाद ज्ञवालीले गठित समुहलाई उदाहरणीय कार्य गर्नका लागि शुभकामना दिदै नगरपालिकाको तर्फबाट हुन सक्ने हरेक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको सहजिकरण गर्दै इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले इन्सेकको स्थापना, इन्सेक मार्फत सञ्चालित कार्यक्रमबारे जानकारी गराउनु भएको थियो । इन्सेक सहजकर्ता राजु चापागाईंले कार्यक्रम मार्फत एक वर्षमा सञ्चालक हुने गतिविधिको बारेमा जानकारी गराउनुभयो ।
तिर्थराज डुम्रे