मलखाद र धानको बिउ नपाएको विषयमा मानव अधिकार समूहद्वारा नगर प्रमुखलाई ध्यानाकर्षण पत्र

कपिलवस्तु । २०७९ जेठ १८ गते

इन्सेकद्वारा गठित  मानव अधिकार समूह बाणगंगाले धानको बिउ र मलखाद नपाएको विषयमा जेठ १७ गते नगरपालिकाका प्रमुख चक्रपाणी अर्याललाई ध्यानाकर्षण पत्र बुझाएको छ । बाणगंगा नगरपालिका भित्रका किसानहरूले धान खेती लगाउने बेलामा रासायनिक मलखाद डिएपी, युरीया र उन्नत जातको धानको बिउ बजारमा नपाएको गुनासो आए पश्चात समूहले नगरभित्रका केही सहकारीको अनुगमन गरी समस्याहरुको पहिचान गरेर नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको हो । अनुगमनमा बाणगंगा नपा–५ मा रहेको छिमेकी सहकारी संस्था, दिव्यज्योति महिला सहकारीमा २० क्वीन्टल डिएपी र आठ क्वीन्टल पोटास  बितरण गर्दा ८० कृषकले २५ केजीका दरले मात्र मलखाद पाएको र वडा नं. ४ स्थित कर्मेश्वर कृषि सहकारी संस्थामा १५ क्वीन्टल र जनमैत्री कृषि सहकारी संस्थामा २५ क्वीन्टल डिएपी र आठ क्वीन्टल पोटास मात्र किसानहरूले पाएको पाइयो ।

किसानहरुले उन्नत जातको धानको बिउ समयमा नपाएको । कृषि सामाग्री संस्थानको मलखादका लागि नगरपालिकाले समयमै उपलब्ध गराउन नसकेको । किसानहरुको समस्या समाधानका लागि नगरपालिकाको कृषि शाखाले समयमै पहल गर्नुपर्ने, राम धान र राधा चार धानको बिउ बाहेक अन्य उन्नत जातको धानको बिउको ब्यवस्था गरिनुपर्ने । मलखादको समस्या समाधान गर्न कृषि मत्रालयसँग समन्वय गर्नु पर्ने लगाएतका बिषयहरू ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । मलखादको अभावमा किसानहरूले नेपाल सरकारले अनुमति दिएको कृषि सामाग्री संस्थाले बितरण गरेको १८–४६ नामको डिएपी, युरिया, पोटास बाणगंगा नगरपालिकाका किसानहरूलाई समयमा उपलब्ध गराउनका लागि कृषि मन्त्रालयसँग समन्वय गरी तत्काल किसानको समस्या समाधान गर्ने नगर प्रमुख अर्यालले बताउनु भयो । मानव अधिकार समूहका उपाध्यक्ष इन्दिरा पन्त , सचिव मधु पाण्डे, सदस्य रुपा राई गुरुङ्ग, देबकला सुवेदी कुमाल, यमुना पन्थी , इन्सेक प्रतिनिधि पार्वती आचार्य, हटबिट एफएमका सहायक स्टेशन म्यानेजर हरि आचार्यद्वारा हस्ताक्षरित पत्रमा मलखाद पहुँच हुने ब्यक्तिहरूले मात्र पाएको र सर्बसाधारण किसानहरूले सुचनासमेत नपाएको उल्लेख छ ।

पार्वती आचार्य