महामारीमा महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई प्राथमिकता दिन माग
कान्तिपुर, लुम्बिनी । २०७८ मङ्सिर ३ गते
बुटवल — महामारी र विपद्मा महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई उच्च प्राथमिकतामा राख्नुपर्ने सरोकारवालाहरूले माग गरेका छन् । सामाजिक संरचना, उद्धार र राहतका कार्यक्रम महिला बालबालिका र ज्येष्ठ नागरिकमैत्री नहुँदा उनीहरूमा बढी क्षति हुने गरेको उनीहरूले बताए । अनौपचारिक सेवा केन्द्र इन्सेकले शुक्रबार बुटवलमा आयोजना गरेको महामारी र विपद्मा राष्ट्रिय मानव अधिकार संस्थाहरू र नागरिक समाजको भूमिका र चुनौती विषयक कार्यक्रमका सहभागीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
राज्यले प्राथमिकता नदिएका विषयलाई नागरिक समाजले निरन्तर खबरदारी र निगरानी गर्नुपर्ने उनीहरूको धारणा थियो । कार्यक्रममा राष्ट्रिय अपांग महासंघ लुम्बिनी सदस्य सावित्रा घिमिरेले महामारीमा र विपद्मा अपांगता भएका व्यक्तिका बारेमा ध्यानै नदिई योजना बनाउने गरेको गुनासो गरिन् । यसबाट उनीहरू प्रभावित हुने र मृत्युको मुखसम्म पुग्नेगरेको उनले बताइन् । ‘कोरोना संक्रमितका लागि बनाइएको अधिकांश आइसोलेसन अपांगतामैत्री थिएनन्,’ उनले भनिन्, ‘त्यसैले भएका धेरै व्यक्ति कोरोनापछि आइसोलेसनसम्म पुग्न सकेनन् । अवस्था पनि बनाइएन ।’ महिला मानवअधिकार रक्षक संजालकी केन्द्रीय सदस्य इन्दिरा आचार्यले सीमान्तकृत समुदाय महामारी र विपद्मा बढी पर्ने तर उनीहरूका पक्षमा वकालत गर्ने काम कम भएको गुनासो गरिन् । नागरिक समाज एक भएर तीन तहकै सरकारलाई यसबारे झकझकाउनुपर्ने उनले बताइन् ।
एडभोकेसी फोरमका शिव गौडेलले सरकार र अन्य सरकारी निकाय एवं नागरिक समाजबीच समन्वय भए मात्रै विपद्बारे कार्यक्रमले लक्षित समुदायलाई छुने बताए । इन्सेकका केन्द्रीय कार्यकारी अध्यक्ष डा. इन्दिरा श्रेष्ठ, मानवअधिकार आयोगका उपसचिव सन्तोष आचार्य र अनौपचारिक सेवा केन्द्र इन्सेक प्रतिनिधि अधिवक्ता सम्झना श्रेष्ठले कार्यक्रममा छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गरेका थिए ।