महामारी र विपदमा सरोकारवाला सङ्घसंस्था र निकायको चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

धनुषा । २०७८ कात्तिक १२ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ को आयोजनामा महामारी र विपदमा राष्ट्रिय मानव अधिकार संस्थाहरू, संवैधानिक निकाय तथा नागरिक समाजको भूमिका र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम कात्तिक १२ गते जनकपुरधाममा सम्पन्न गरिएको छ । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ का प्रमुख विरबहादुर बुढा मगरले विपद र महामारीको समयमा संवैधानिक निकाय, सामाजिक सङ्घसंस्था र नागरिक समाजको भुमिका र चुनौतीबारे अवधारणापत्र प्रस्तुत गर्नु भयो । कार्यक्रममा मधेशी आयोगका अध्यक्ष डा. विजय दत्तले महामारी र विपदको बेलामा संवैधानिक निकाय र नागरिक समाजको भूमिका अहम् हुने भएकाले यस्तो समयमा झन् सक्रिय हुनु पर्ने बताउनु भयो ।

विपदको बेलामा सचेत र सक्रिय हुन नसकिएमा जनधनको क्षति बढी हुने उहाँको धारणा छ । उहाँले स्थापनाको १० दिनमै बारा र पर्सामा आएको टोर्नेडोबाट जनधनको क्षति भइरहँदा मधेशी आयोग घटनाको भोलिपल्ट नै पुगेर स्थलगत अध्ययन गरी स्थानीय आवश्यकताको पहिचान गरी नेपाल सरकारलाई सिफारिस गर्दा सम्भावित समस्याहरूको न्यूनीकरण गर्दै आएको बताउनुभयो । विपद र महामारीको बेलामा तयारी गर्नुभन्दा विपद पूर्व नै तयारी गरिनुपर्ने र ठोस योजना र स्थानीय सङ्घसंस्थाहरूको यसमा भुमिका महत्वपूर्ण हुने बताउनुभयो ।

इन्सेकका निर्देशक श्रीराम बजगाँइले विपद र महामारी जुन सुकै समयमा आउने सम्भावना रहने भएकाले यसको न्यूनीकरणका लागि सामाजिक सङ्घसंस्था र नागरिक समाजको भुमिकामा जोड दिनु भयो । विपद र महामारीले सामाजिक सदभावमा समेत असर पार्ने भएपनि सामाजिक सङ्घसंस्था र नागरिक समाजको साथ र सहयोगले आपसी भाइचारा, सामाजिक एकता, न्याय, सदभाव र पारस्परिक सम्बन्धलाई मजबुत बनाउने गरेको बताउनुभयो । दलित विकास समिति प्रदेश २ का अध्यक्ष रामप्रवेश बैठाले प्रदेश २ मा विपद र महामारीका बेला होस् वा अन्य समयमा नै नि नहोस् यहाँका दलित समुदायका व्यक्तिहरू बढी पीडित हुने गरेको बताउनु भयो ।

राजर्षी जनक विश्वविद्यालयका प्रध्यापक अशोक साहले विपद र महामारी जोखिम क्षेत्रको अध्ययन र अनुसन्धानको कमी रहेको औँल्याउनु भयो । मुख्य न्यायधिवक्ताको कार्यालय प्रदेश २ का प्रदेश कानुन अधिकृत रिङ्कुकुमारी यादवले विपद र महामारीका बेला जनता आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा हिंसामा परेका घटनाहरूले थप समस्या ल्याउने हुँदा नागरिक समाज बढी जागरूक हुनु पर्ने बताउनु भयो ।

निलहिरा समाज धनुषाका कार्यक्रम संयोजक जुनु चौधरीले विपद र महामारीका बेलामा यौनिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिहरू बढी प्रभावित हुँदै आएको बताउनुभयो । पत्रकार अजय झाले विपद र महामारीको समयमा सञ्चार क्षेत्रको ठुलो भुमिका रहँदै आएको बताउनुभयो । कार्यक्रममा इन्सेक प्रदेश २ का प्रमुख राजु पासवानले कोभिडकै समयमा पनि मानव अधिकारको क्षेत्रमा क्रियाशील सङ्घसंस्थाहरूको साझा सहयोगमा क्वारेन्टाइन र अस्पतालको अनुगमन गरेको बताउनुभयो ।

दिपेन्द्रप्रसाद सिंह